सर्लाहीका २० मध्य छ पालिकाबाट मात्रै पाठ्यपुस्तकको रकम निकासा

342 Shares

११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीका छ वटा पालिकाले मात्रै पाठ्यपुस्तकको रकम निकासा गरेका छन् ।नयाँ शैक्षिक सत्र सुरु हुन एक साता मात्रै बाँकी रहँदा जिल्लाका छ वटा पालिकाले पाठ्यपुस्तकको रकम निकासा गरेका शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको बलरा,कविलासी,ईश्वरपुर,हरिपूर्वा र लालबन्दी नगरपालिका र चक्रघट्टा गाउँपालिकाले मात्रै पाठ्यपुस्तक खरिदबापतको पहिलो किस्ताको रकम विद्यालयको खातामा पठाएका हुन ।बाँकी १४ वटा पालिकालाई समयमै विद्यालयको खातामा पाठ्यपुस्तकको रकम पठाउन ताकेता गरिरहेको शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाले जनाएको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले प्रकाशन गरेर पठाउने पुस्तक जिल्लाका बिक्रेता मार्फत विद्यालयले खरिद गर्ने गरेका छन् ।
पालिकाले विद्यालयको खातामा पाठ्यपुस्तकको रकम पठाउनै ढिलाई गर्दा विद्यालयले शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक नपाउने अवस्था सिर्जना हुने गरेको छ।शैक्षिक सत्र सुरु हुुनुुभन्दा तीन महिनाअघि नै विद्यालयको खातामा पाठ्यपुस्तक खरिद बापतको अनुदान रकम पठाउने पर्ने व्यवस्था रहेपनि जिल्लाका अन्य पालिकाहरुले नयाँ शैक्षिक सत्र सुरु हुनै  लाग्दा पनि पाठ्यपुस्तक खरिद वापतको रकम विद्यालयको खातामा नपठाउँदा नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउने सम्भावना न्यून रहेको छ ।
नयाँ विद्यार्थी भर्नाको विवरण,पाठ्यपुस्तक खरिद र वितरण गरेको विवरणको आधारमा एकिन गरी नपुुग पहिलो किस्तामा पठाएको अपुग रकम दोस्रो पटक पठाउने व्यवस्था छ ।कुनै विवाद नरहेको र कर्मचारी उपलब्ध रहेका पालिकाले समेत पाठ्यपुस्तकको रकम विद्यालयलाई उपलब्ध गराउन चासो देखाएका छैनन्। 

सम्बन्धित समाचार