पर्साको वीरगन्जमा झडप भएर एक दर्जनभन्दा बढी प्रहरी र स्थानीयहरू घाइते भएपछि शनिबार साँझ देखि कफ्र्यु आदेश जारी भएको छ।हनुमान जयन्तिको शोभायात्रा निकाल्ने क्रममा छपकैया चोकमा दुई समुदायबीच झडप हुदा एक दर्जन भन्दा बढी प्रहरी र स्थानीयहरू घाइते भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ साढे छ बजेदेखि तत्कालको लागि आइतबार मध्यान्हसम्म लागु हुने गरी कफ्र्यु आदेश जारी गरेका हुन ।
स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (क) बमोजिम सो कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।पर्साको वीरगन्ज महानगरपालिका भित्र चार किल्लाको सीमाना भित्र कसैले आवत जावत गर्न,कुनै पनि प्रकारको भेला,जुलुस,प्रदर्शन,सभा,बैठक,घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको हो।
पूर्वमा वीरगंज महानगरपालिका १५ अवस्थित भेडियाही खोला,पश्चिममा वीरगंज महानगरपालिका २५,सिर्सिया पुलसम्म उत्तरमा वीरगञ्ज महानगरपालिकाको गण्डक चौकसम्म र दक्षिणमा वीरगञ्ज महानगरपालिका शंकराचार्य गेटसम्म कफ्र्यु आदेश लागु गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
दुई समुह विच भएको झडपको क्रममा ढुंगामुढा प्रहारबाट जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक बाबुराम पुडासैनी घाइते भएका छन्।घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।