सर्लाहीको बरहथवा नगरपालिका १ स्थित बागमती नदीबाट नदीजन्य सामाग्री उत्खन्न् र चोरी निकासी तथा टिपर आतंक बन्द गर्नुपर्ने माग राख्दै स्थानीयले प्रदर्शन गरेका छन्।बरहथवा नगरपालिका १,हजरियास्थित खर्साल घाटबाट ठेकेदारले नदीजन्य सामग्री उत्खन्न र चोरी निकासी गरी तीव्र गति र ओभरलोडले भरिएको टिपरको कारण यहाँ प्रत्येक वर्ष दुर्घटना हुने गरेकोले त्यसलाई तत्काल रोक्न माग गर्दै स्थानीयले बरहथवा बजारमा प्रदर्शन गरेका हुन ।
यता,बरहथवा नगरपालिका १ स्थित खर्साल घाट नजिकै सामुदायिक वन रहेकोले सो क्षेत्रबाट नदीजन्य पदार्थ उत्खन्न गर्न ठेक्का नलगाउने गरेको नगर प्रमुख कल्पना माया कटुवालले बताईन् ।उनकाअनुसार नगरपालिकासँग सम्झौता नै नगरी ठेकेदारले नदीजन्य पदार्थ चोरी निकासी गरी दैनिक सयौं टिपर लग्ने गरेका समेत बताईन् ।
त्यस्तै,अवैध रुपमा नदीजन्य पदार्थ उत्खन्न गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए।तर जिल्लाका नदीहरुमा भई रहेको मापदण्ड विपरितको उत्खन्नलाई सरोकारवाला निकायले मौन सर्मथन गरेका कारण ठेकेदारहरुको मनोवल बढी रहेको बरहथवाका स्थानीय एवम जनमत पार्टीका नेता त्रिभुवन सिंहले बताए।उनका अनुसार जिल्लाका सुरक्षा अधिकारीहरु सहित जनप्रतिनिधिहरुको मौन सर्मथन रहेका कारण ठेकेदारहरुले मापदण्ड विपरित आफु खुसी उत्खन्न गरी रहेका छन् ।