सर्लाहीको बागमती नगरपालिकामा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ।भरत तालको नामले परिचित मधेशको शान दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित बागमती माछा पोखरीमा नयाँ वर्ष २०८२ मनाउने आन्तरिक पर्यटकको घुइँचो लागेको बागमती इन्टरटेन्मेन्ट प्रा.लिका अध्यक्ष गौतम खड्काले बताए।उनका अनुसार आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन बागमतीका व्यवसायी उत्साहित भएका छन्।

संघीय सरकार,मधेश प्रदेश सरकारका साथै बागमती नगरपालिका र विभिन्न दातृ निकायहरुको आर्थिक सहयोगमा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल) मा निर्माण कै चरणमा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइचो लागेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए।उनका अनुसार एक सय २१ बिघा क्षेत्रफलमा निर्माण हुने बागमती माछा पोखरी(भरत ताल)को पहिलो खण्डको काम करिब सकिएको र सोही भागमा अहिले डुङ्गाहरुका साथै वाटर साईकल र ताल बाहिर मनोरन्जनका विभिन्न वस्तुहरु राखिएको छ ।

जहाँ स्काई साईक्लिनिङ,मेट्रो रेल,घोडा चढ्ने तथा नगर वगैँचा घुम्ने र बाहिर रहेका विभिन्न दृश्यहरुको फोटो खिच्ने तथा मनोरन्जन लिने व्यवस्था गरिएको छ ।बागमती नगरपालिकाले नगर भित्रका करिब एक दर्जन विकास योजनाहरुलाई नगर गौरवको आयोजनाको रुपमा समेटेर विकास निर्माणको काम गरि रहेको बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले बताए ।
बागमती माछा पोखरी(भरत ताल) लगायत बागमतीको विकास देख्न नसक्नेहरुले विभिन्न हत्कण्डा अप्नाएर नगर प्रमुख भरत कुमार थापा सहितको टिमलाई मुद्धा हालेर बागमतीको विकासमा भाँजो हालेका स्थानीयको आरोप छ ।
