चुरे संरक्षणको भूमरीमा तराई मधेश,अतिक्रमणको सिकार बन्दै चुरे

376 Shares

नेपालको चुरे श्रृङ्खला हिमालय पर्वत मालाको दक्षिणमा अवस्थित पूर्वमा मेचीदेखि पश्चिम महाकाली नदीसम्म झन्डै आठ सय किलो मिटर तन्किएर रहेको छ।तराई मधेशको माथिल्लो तट चुरे हो जसको भू–बनोट, ढुङ्गाको कडापनको हिसाबले कमलो भएकोले मानवीय तथा भौगोलिक कारणले पनि चुरेमा भू–क्षय तथा पहिरो जाने गर्दछ। वि.सं. २०२२ सालदेखि २०३७ सालसम्म चुरेमा २ लाख ६३ हजार हेक्टर वन विनाश भएको थियो भने यस अवधिमा जनसङ््या वृद्धिसमेत द्रुत गतिमा भयो।सन् १९७५ देखि २००१ सम्ममा चुरेमा कृषि क्षेत्रको वृद्धि ५२.३ प्रतिशतले भएको छ भने वन क्षेत्र घटेको छ।चुरे पहाडको क्षयीकरण र तराई मधेशमा आउने बाढीजन्य प्रकोप तथा भूमिगत पानीको अभाव हुने भएकोले चुरे तराई मधेश भू–परिधिलाई एउटै बृहत इकाइको रूपमा हेर्नु र व्यवस्थित गर्नुपर्ने देखिन्छ। चुरे तराई मधेशमा पानी पुनर्भरण रिचार्ज (Recharge)क्षेत्र हो तसर्थ यो क्षेत्र तराई मधेशको जीवन रेखा हो।
           चुरे पर्वतले नेपालका ३७ जिल्लाका केही भाग ओगट्ने गरी नेपालको कुल क्षेत्रफलको १२ दशमलव ७८ प्रतिशत ओगटेको छ र सोही क्षेत्रलाई नेपाल सरकारले वातावरण संरक्षण क्षेत्रको रूपमा २०७१ सालमा घोषणा गरी राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति गठन गरेको छ।चुरेको समस्यालाई समाधान गर्न राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले चुरे संरक्षण तथा व्यवस्थापन गुरु योजना निर्माण गरी सरकारबाट स्वीकृत गराइसकेको छ।चुरेको समस्या वनसँग मात्रै सम्बन्धित छैन।नदी प्रणालीको चुरेदेखि दशगजा सम्मको क्षेत्र वन क्षेत्रको वहुआयामिक गतिविधि संचालन गर्न चुरे एकीकृत ऐन चाहिन्छ जुन अहिले सम्म बनेको छैन।
चुरे संरक्षण तराई मधेशको लागि किन आवश्यक छ ? 
परापूर्व कालदेखि तराई मधेशको जनजीवन चुरेमा निर्भर रहँदै आएको छ।तराई मधेशमा उपलब्ध हुने पानीको स्रोत चुरे पहाड नै हो।तराई मधेशलाई चाहिने निर्माण सामग्रीहरू ढुङ्गा,गिट्टी,बालुवाको स्रोत पनि चुरे नै हो।चुरे तराई मधेशको लागि चाहिने वन पैदावार, काठ, दाउरा, जडिबुटी तथा अन्य पैदावारको स्रोत पनि हो।चुरे तराईको लागि वातावरणीय सेवाको साधन हो।
चुरे विनासबाट तराई मधेशमा के समस्या हुन्छ ?
चुरेको वन विनास भए तराई मधेशमा भूमिगत पानीको अभाव भइरहेको छ र भविष्यमा मरु भूमीकरण हुनेछ।पानीको सतह घट्दै पानीको लेयर तल जानेछ र अहिले गाडेका हाते कल, बोरिङ्गमा पानी आउँदैन।चुरे क्षेत्रको विनासबाट तराई मधेशमा नदीहरूको सतह पुरिन गई नदीमा पानी अट्ने क्षमता घट्न जान्छ जसले गर्दा बाढीको संभावना बढ्दै जानेछ।बाढीले गर्दा वर्षेनी तराई मधेशको कृषि भूमि कटान,डुवान र पटान भई धनजनको क्षति हुन्छ।तराईमा बर्षेनी उच्च तापक्रम,बाढी,शितलहर र भूमिगत पानीको अभाव बढ्दै जाने छ।
चुरे विनासको कारण के हो ?
चुरे क्षेत्रमा अव्यवस्थित बस्ती विस्तार, अतिक्रमण र कृषि क्षेत्र विस्तार,चुरे तथा मध्य पहाडी भागमा राजमार्गका त्रुटीपूर्ण निर्माण र जथाभावी बाटो निर्माण,चुरेमा वन पैदावारको अत्यधिक दोहन र वन क्षयीकरण रवन डढेलो, चरिचरण र भू–क्षय तथा पहिरो 
चुरे,तराई मधेशको संरक्षण कसरी गर्न सकिन्छ ?
चुरेको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित सरोकारवालाहरूले योजनावद्ध किसिमले कार्यक्रम बनाई कार्यान्वयन गर्नु पर्दछ।मधेश प्रदेशमा बढी नदी भएकोले यो क्षेत्र बढी प्रभावित छ।चुरे क्षेत्र प्राकृतिक साधन स्रोतको धनी पनि हो जसको दिगो व्यवस्थापन गरेमा यसले विपद्बाट जोगाउनुका साथै अर्थतन्त्रमा टेवा र रोजगारी सिर्जना गर्न सक्छ।चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजनाले“चुरेको माटो चुरेलाई, सफापानी सबैलाई”भन्ने परिकल्पना गरेको छ । तर यसको लागि सो अनुरूप काम गर्नु पर्दछ अनिमात्र सार्थक हुनेछ । तराईको हकमा चुरे रहे पानी रहे हामी भन्ने मधेश मरुभूमीकरणसँग जोडिएका छ। नदी प्रणालीको योजना अनुसार वन संरक्षण, अतिक्रमण नियन्त्रण, बस्ती र नदी जन्य पदार्थको व्यवस्थापनको साथै चुरेबाट माटो (सिल्ट) कम बग्ने उपायहरू समेटनु पर्दछ ।
नदी प्रणाली अनुसार चुरेको एकीकृत (वन, भू र जल) योजना बनाई कार्यान्वयन गर्ने,प्रदेश सरकारले माथिल्लो तट (चुरे) मा वन संरक्षण,अतिक्रमण नियन्त्रण तथा बस्ती व्यवस्थापन गर्नुका साथै भौतिक पूर्वाधार, बाटो आदि निर्माण गर्न जथाभावी पहाड खन्न बन्द गर्नु पर्दछ ।
चुरे पहाडमा बाँस अम्रिसो र वृक्षारोपण तथा वन संरक्षण गर्ने,भू–उपयोग नीति अनुसार जलाधार भू–संवेदनशीलताका आधारमा कृषि, बसोवास र चुरे संरक्षणका एकीकृत तथा संरक्षणमुखी योजना बनाई कार्यान्वयन गर्नु पर्दछ। चुरेमा पानी अड्याउन नदीहरूमा जलाशय निर्माण गर्ने।
भावर तथा तराई मधेशमा गर्नु पर्ने कार्यहरूः
तराई मधेशमा पानी पुनर्भरणका लागि चुरे क्षेत्रमा पहिले निर्माण भएका बाँध र जलाशयहरूको मर्मत गरी पुनः सिचाई संचालन गर्ने,चुरेबाट निस्कने नदीमा चुरेको फेदमा बाँध बाँधी नयाँ जलाशयहरू निर्माण तथा जल उपयोग गर्ने,जलाशयको माथिल्लो तटमा चेक बाँधहरू बनाउने,यस क्षेत्रको वनको दिगो व्यवस्थापन गर्ने ।
खोला/नदी किनारा स्थिरीकरण :
 खोला/नदी किनारा स्थिरीकरणका लागि नदी किनारामा तटबन्ध जस्ता संरचना निर्माणको डिजाइन गर्दा नदीमा पानी सहज बहावको लागि नदीको चौडाईको एक तिहाइ भाग किनारबाट छाडि नदीको वीचमा चेनेलिङ गर्नु पर्दछ।तटबन्ध निर्माण गर्दा अनिवार्य रूपमा हरित पेटी निर्माण पनि गरिनु पर्दछ। नदीको माथिल्लो तटमा भू–क्षय हुने कुनै पनि संरचना निर्माण नगर्ने। 
नदीजन्य पदार्थ उपयोग/व्यवस्थापनः
चुरेको भौगर्भिक अवस्था कमजोर भएकोले चुरेमा ढुङ्गा गिट्टी उत्खनन गर्नु हुँदैन।यदि चुरे संरक्षण क्षेत्रबाट नदीजन्य पदार्थ ढुङ्गा गिट्टी बालुवा संकलन गर्नु परेमा यसबारे राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट बनाइएको मापदण्डअनुसार संकलन गर्नु पर्दछ। नदीजन्य पदार्थ आर्थिक वस्तु भएकोले यसलाई व्यवस्थित गरेर बजारको आवश्यकता पूर्ति गर्न,वातावरणीय अध्ययन अनुसार महेन्द्र राजमार्गदेखि दक्षिणको नदीमा चेनेलिङ हुने गरी नदीजन्य पदार्थ संकलन गर्ने।
केन्द्र र प्रदेश सरकारले नदीजन्य पदार्थको संकलन तथा उपयोग बारे बनाएको मापदण्डअनुसार स्थानीय तहले नदीजन्य पदार्थको संकलन तथा उपयोग गर्नु पर्दछ। खास गरेर राजमार्ग दक्षिणको नदीमा जम्मा भएका बालुवा निर्माण कार्यको लागि उपयुक्त नहुने भएपनि अन्य कार्यका लागि नदीको चौडाईको एक तिहाई क्षेत्र बीच भागबाट नदी चेनेलिङ हुने गरी नदीजन्य पदार्थ संकलन र प्रयोग गर्न सकिन्छ।
यसरी नदीजन्य पदार्थ संकलन नियमानुसार भए नभएको बारे नियमित अनुगमन हुनु पर्दछ।चुरे संरक्षणबारे सङ्घीय सरकार र मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउँछन्।गत केही वर्षदेखि फिल्डबाट योजना बन्दैन चुरे जोगाऔं मधेश बचाओंको नाममा अबण्डामा करोडौं बजेट विनियोजन हुन्छ तर माथि उल्लेख भए अनुसार कार्यहरू गरिँदैन भने कसरी समस्या समाधान हुन्छ।नदी नियन्त्रणको नाममा कार्यक्रम भागबण्डा तथा कनिका छरेर पुरेर तराईको समस्या हुँदैन।तसर्थ तराई मधेशका सचेत नागरिकले विचार गर्नु होस र अब के गर्ने?

सम्बन्धित समाचार