सर्लाहीको बरहथवा बजारका ११ वटा निजी अस्पतालहरु मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतिश कुमार सिंहले बन्द गराएका छन्।बरहथवा बजारमा सञ्चालित सर्लाही गोल्डेन हस्पिटल प्रा.लि सहित ११ वटा निजी अस्पताल तथा पोलिक्लिनकहरु मुख्य मन्त्री सिंहको निर्देशनमा बन्द गरिएका छन्।सर्लाही गोल्डेन हस्पिटलले एक विरामीसँग चर्को शुल्क लिएको घटना विभिन्न सञ्चार माध्यामहरुबाट बाहिरीए पछि बुधवार साँझ अनुुगमनमा पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सिंहले सर्लाही गोल्डेन हस्पिटल प्रा.लिसहित मापदण्ड विपरीत सञ्चालन भइरहेका अन्य गरी ११ वटा अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सिंहको निर्देशनपछि सर्लाही गोल्डेन हस्पिटल प्रा.लि,संकटमोचन अस्पताल,सन्जिवनी अस्पताल,ह्याप्पी अस्पताल,भेनस अस्पताल,हनुमन्त अस्पताल,बरहथवा नवजीवन अस्पताल र अन्य चारवटा पोलिक्लिनिक बन्द भएका छन्।मापदण्ड विपरीत सञ्चालित भएका ११ वटै स्वास्थ्य संस्थालाई पत्र काटेर तत्काल बन्द गर्न र प्रक्रिया पूरा गरेर मात्रै संचालन गर्न निर्देशन दिइएको मधेश प्रदेशका मुख्य मन्त्री सिंहका स्वकीय सचिव रवि सिंहले जानकारी दिए ।
सर्लाहीको बरहथवा नगरपालिका ६ मा सञ्चालित सर्लाही गोल्डेन हस्पिटल प्रा.लि.का सञ्चालकले बिरामी र उनका आफन्तमाथि बिलको विषयमा विवाद भएपछि दुव्र्यवहार भएको थियो ।
बरहथवा नगरपालिका ६ निवासी रामप्रवेश साहको छोराको औंला काटिएपछि उपचारका लागि सर्लाही गोल्डेन हस्पिटल प्रा. लि. पुगेका बिरामी र उनका आफन्त विच विलको विषयमा विवाद भएपछि हस्पिटलका सञ्चालक दिपेश यादवले दुव्र्यवहार गरेका पीडित परिवारको गुनासो पछि विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन भएपछि मधेश प्रदेशका मुख्य मन्त्री सिंह स्थलगत अवलोकनका लागि हस्पिटल पुगेका हुन ।औंला काटिएर उपचार गर्न गएका उनीहरुले प्राथमिक उपचारपछि बिल मागेपछि हस्पिटलले रु १८ हजारको विल दिएको थियो।त्यसपछि बिल अत्यधिक भएको भन्दै पीडित परिवारले यति धेरै बिल कसरी भयो भनी पीडित परिवारले सोध्दा हस्पिटलका संचालक यादव रिसाएर बिरामीका आफन्तलाई गालीगलौज गर्दै दुव्र्यवहार गरेका पीडित परिवारको गुनासो छ।पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवाका साथै बरहथवा नगरपालिकाको स्वास्थ्य शाखामा उजुरी दिएको बताएका छन् ।स्थानीयका अनुसार हस्पिटलका संचालक यादवले यस अघि पनि पटक पटक यस प्रकारका हर्कतहरु गर्दै आएका थिए।हस्पिटलका सञ्चालक यादवले यसअघि पनि बिरामीसँग अत्यधिक शुल्क असुली गर्ने,दुव्र्यवहार गर्ने र कुटपिट गर्ने जस्ता गुनासाहरू बारम्बार प्रशासनसम्म पुगिसकेका छन्।तर अहिलेसम्म कुनै ठोस कारबाही नभएको प्रति स्थानीय आक्रोशित छन्।
त्यस्तै,बरहथवा नगरपालिकाको स्वास्थ्य शाखाले घटनाको जानकारी लिएको र छानबिन प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिएको छ । यता, हस्पिटलका सञ्चालक यादवले आफ्नो हस्पिटलाका कुनै पनि कर्मचारीले कुनै बिरामी पक्षमाथि कुनै प्रकारको दुव्र्यवहार नगरेको दाबी गर्दै आफ्नो हस्पिटल माथि नेपाली कांग्रेसले राजनीति गरेको बताए।हस्पिटललाई बदनाम गराउन नेपाली कांग्रेसले घुमाउरो राजनीति गरेको उनको आरोप छ ।
मुख्यमन्त्री सिंहले यसअघि पनि सर्लाही सदरमुकाम मलंगवासहित नवलपुर,लालबन्दी,हरिवन र बरहथवा लगायतका बजारहरुमा सञ्चालित निजी र सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेका थिए।मुख्यमन्त्री सिंहका अनुसार अहिले सर्लाहीसहित मधेश प्रदेशका एक सय ३७ वटा भन्दा बढी स्वास्थ्य संस्थाहरु बन्द गर्न निर्देशन दिएका छन् ।