“जनतासँग माओवादी,तराई–मधेस जागरण अभियान” माओवादी केन्द्रको गुमेको साख फर्काउने सम्भावना

325 Shares

संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको स्थापनाका लागि १० वर्षे शसस्त्र युद्ध लडेको माओवादी २०८४ को चुनावमा गुमेको साख फर्काउने रणनीतिक योजनामा जुटेको छ ।२०६४ मा भएको संविधान सभाको निर्वाचनमा सबै भन्दा धेरै मत ल्याएर जनमत र जनाधार बटुलेको माओवादी त्यसपछिका निर्वाचनहरुमा आफ्नो जनमत र जनाधार गुमाउँदै गएको छ ।
पछिल्लो पटक सरकारमा रहँदा भ्रष्टाचार विरुद्ध कडा रुपमा प्रस्तुत भएको माओवादीले जनस्तरमा सम्बन्ध जोड्न “जनतासँग माओवादी,तराई–मधेस जागरण अभियान”चलाएर उत्साहित माओवादी संगठनकै चिरफार गरेमात्र सफल हुने निष्कर्षमा पुगेको छ।पार्टीभित्र मौलाएका गुट नमासेसम्म संगठन चलायमान हुन नसक्ने ठहर भएपछि सबै प्रदेशका साथै अधिकांश जिल्लाहरुका इन्चार्जको जिम्मेवारी परिवर्तन गरेकोे छ । 
माओवादी केन्द्र भित्र संस्थापन र संस्थापन इतरका साथै संस्थापनमा पनि दुई वटा  गुट स्पष्ट रुपमा देखिएको छ।जसलाई चिरफार गर्न भन्दै माओवादी केन्द्रले गुट,उपगुट मासेर पार्टी निर्माणमा लाग्ने नेताहरुले बताएका छन् ।माओवादीभित्र जनयुद्व पृष्ठभूमि(संस्थापन) र जनयुद्वमा सहभागी नभएका(जनचमोर्चा)संस्थापन इृतर)बीच अहिले पनि ठुलो खाडल छ ।मधेसमा जनयुद्व लडेका माओवादीहरूको नेतृत्व मातृका यादवले गरेको देखिन्छ भने जनयुद्व नलडेको अर्थात् पूर्वजनमोर्चा गुटको नेतृत्व गिरिराजमणि पोखरेलले गरेका छन् ।
कहिलेकाहीँ यी गुटहरूको रमिता पार्टीभित्र मात्र नभएर बाहिर नै छताछुल्ल हुने गरेको छ । यतिसम्म कि कुनै समय यी हाई–प्रोफाइल नेताहरू सार्वजनिक कार्यक्रमहरूमा आमनेसामने समेत पर्न चाहँदैनथे।पार्टी केन्द्रले नारायणकाजी श्रेष्ठ समूहलाई मधेसमा बढी जिम्मेवारी दिएको र जनयुद्व लडेर आएका माओवादीलाई जहिल्यै पाखा लगाएको आरोप समेत सुनिने गरेको थियो ।
मधेसमा एमाले र कांग्रेसको मत स्थिर देखिए पनि माओवादी २०७९ आइपुग्दा खुम्चिँदै गएको छ।२०७४ सालमा ५ सिट जितेको पार्टी २०७९ सालको चुनावमा आइपुग्दा १ सिटमा चित्त बुझाउनुप¥यो।सर्लाही क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादवले मधेसबाट“निल”जाने अवस्थाबाट माओवादी केन्द्रलाई जोगाइदिए।त्यो पनि बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपाका नेता रहेका यादव अन्तिम समयमा माओवादीको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए ।
प्रदेशसभा र स्थानीय तहमा पनि माओवादी खुम्चिँदै गएको छ।२०७४ को चुनावमा मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ छ सिट जितेको माओवादीले २०७९ को चुनावमा जम्मा चार सिट जितेर प्रदेशमा छैटौँ दल बन्यो।मधेसका एक सय ३६ स्थानीय तहमध्ये २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले २१ स्थानीय तहमा १३ प्रमुख र आठ अध्यक्ष जितेको थियो।२०७९ को निर्वाचनमा जम्मा नौ वटामा मात्र जित्यो । जसमा सर्लाहीका तीन वटा नगरपालिकाका नगर प्रमुख दुई वटा नगरपालिकाका उप प्रमुख एउटा गाउँपालिका अध्यक्ष र दुई गाउँपालिका उपाअध्यक्ष जितेको छ ।
निकै कमजोर बन्दै गएको माओवादी केन्द्रले २०८४ मा भने २०६४ को विरासत फर्काउने दाबी गर्दै आएको छ।“जनतासँग माओवादी,तराई–मधेस जागरण अभियान”का क्रममा “रूपान्तरणसहित पार्टीले आत्मसमीक्षा गर्नेछ र पुरानो विरासत फर्काउनेछ ।”माओवादी केन्द्रका अध्यक्ष एवम संघीय लोकतान्त्रीक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले दाबी गरेका छन् ।
गुटगत लडाइँकै कारण २०७९ मा सबैभन्दा बढी फाइदा मधेसमा नेकपा एमालेले लियो । माओवादी केन्द्रसंग असन्तुष्ट नेता,कार्यकर्तालाई जिम्मेवारीसहित एमालेले पार्टी प्रवेश गराउने नीति नै बनाएको थियो।परिणामतःअहिले एमाले मधेसको सबैभन्दा वलियो शक्तिका रूपमा छ । २०७४ मा माओवादी र एमाले बराबरी जस्तै थिए ।
सत्ताबाट बाहिरिएपछि जनतासँग जोडिइरहेको माओवादीले आफ्ना गल्तीहरूलाई पहिचान गरेर सुधार गरेर अगाडि बढी रहेको छ ।पार्टीको महाविधेशनले मधेस प्रदेशबाट ४० जनालाई केन्द्रीय सदस्य बनाएको थियो।तर जिल्ला,स्थानीय तहहरू अहिले पनि नेतृत्वविहीन छन् । नेतृत्वविहीन हुनुमा गुट नै प्रमुख कारण बनेको नेताहरुको विष्लेषण छ ।

सम्बन्धित समाचार