सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्र निःशुल्क स्यानेटरी प्याड वितरण गर्न सुरु गरेको छ।हरिवन नगरपालिकाका ११ वटै वडाहरुका महिनावारी भएका महिलालाई वडामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क स्यानेटरी प्याड वितरण सुरु गरेको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

उनका अनुसार यसअघि विद्यालयमा अध्ययनरत् छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउँदै आएकोमा अब समुदायस्तरका महिलालाई समेत स्वास्थ्य शाखा मार्फत निःशुल्क स्यानेटरी प्याड वितरण गर्न सुरु गरिएको हो ।स्वास्थ्य शाखाको सर्भे अनुसार नगरभित्रका १४ वर्षदेखि ४९ वर्ष उमेर समूह अर्थात् रजस्वला हुन सक्ने उमेर समुहका करिब ११ हजार महिलालाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने लक्ष्य रहेको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए ।

उनका अनुसार एक जनालाई एक पटकमा एक पोका स्यानेटरी प्याड उपलब्ध गराउने र त्यसको रेकर्ड सम्वन्धित स्वास्थ्य संस्थाले राख्ने व्यवस्था मिलाइएको छ ।अहिले २३ हजार दुईसय पोका प्याड खरिद गरेर नगरपालिका मातहतका स्वास्थ्य संस्था र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीलाई प्रदान गरि सकिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।