अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा बुधबार युवा दौड प्रतियोगिता आयोजना गरिएको छ।सर्लाही युथ फोरमले आयोजना गरेको दौड प्रतियोगितामा एक सय भन्दा धेरै युवाहरुको सहभागीता रहेको थियो।“लागू औषध विरुद्ध हाम्रो दौड”कार्यक्रम नयाँरोडबाट हरिवनसम्म चलेको सर्लाही युथ फोरमकी अध्यक्ष आरती लामाले जानकारी दिईन् ।उनका अनुसार प्रतियोगितामा अशोक कुमार साह प्रथम,विक्रम यादव द्धितिय र आकाश मुखिया तृतिय भएका छन्।उनीहरूलाई प्रमाण–पत्र सहित क्रमश रु सात हजार, पाँच हजार र तीन हजार प्रदान गरिएको आयोजकले जनाएको छ।पछिल्लो सयम सर्लाही जिल्ला लागू औषध सेवनकर्ताको अखडा जस्तो बन्दै गएकाले लागूऔषध विरुद्ध जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको फोरमका संयोजक विवेक मैनालीले बताए ।

“लागूऔषधले हाम्रा युवाको सिर्जनशीलता मार्दै लगेको छ।”मैनालीले बताए।“युवाहरूलाई स्वस्थ र अनुशासित तथा मानसिक र शारीरिकरूपमा स्वस्थ बनाउन राज्यले विशेष ध्यान दिनुपर्छ।” अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार देशैभरी विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा “भिन्न परिवेश,साझा आकांक्षा”तय गरिएको छ।युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यसहित यो दिवस मनाउन थालिएको हो।सन् २००० देखि संयुक्त राष्ट्र संघको आव्हानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार,१६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या एक करोड २४ लाख १२ हजार एक सय ७३ जना अर्थात् कूल जनसंख्याको ४२ दशमलव ५६ प्रतिशत रहेको छ।युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश,जाँगर,उत्साह अनि शक्ति भएको उमेर–समूहका रूपमा लिइन्छ।कार्यक्रममा ईलाका प्रहरी कार्यालय हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।