सर्लाहीमा लालबन्दी,नवलपुर र हरिवन क्षेत्रका सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुमा मौसमी फ्लुका बिरामीहरुको चाप बढेको पाइएको छ ।सर्लाहीका अस्पतालमा मौसमी फ्लुका बिरामी बढेका छन्।मौसममा आएको परिवर्तनसँगै मौसमी सङ्क्रमण भएर अस्पतालमा उपचार गराउन आउने मौसमी फ्लुका बिरामीको संख्यामा बढेको लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगरअस्पतालका प्रमुख डा. चन्दन चौधरीले जानकारी दिए ।
उनका अनुसार दम,ज्वरो,खोकी,टाउको दुख्ने र टाइफाइडजस्ता मौसमी फ्लुको सङ्क्रमणका विरामीहरुउपचारकालागि अस्पताल आउने गरेका छन् ।नगर अस्पतालमा उपचार गर्न आउने एक ५० भन्दा बढी बिरामीमध्ये धेरैजसोमा मौसमी फ्लुको समस्या देखिएको उनले बताए ।बालबालिका र वृद्धवृद्धामा मौसमी फ्लुको सङ्क्रमण धेरै देखिएको छ।
अघिल्ला वर्षहरुमा दशैँपछि फागुन÷चैतसम्म स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप घट्ने गरेकोमा यो वर्ष दशैँ सकिए लगतै बिरामीको चाप बढ्न थालेको लालबन्दी नगर अस्पतालले जनाएको छ।मौसमी फ्लुका साथै डेङ्गुका बिरामी समेत बढ्न थालेका छन् ।अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा छिमेकका ईश्वरपुर र हरिवनलगायत पालिकाबाट आएका बिरामीलाई डेङ्गु सङ्क्रमण देखिएको डा.चौधरीले बताए।
मौसमी फ्लुबाट जोगिन समय समयमा साबुन पानीले हात धुन,तातो पानी पिउने,बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाउन,फ्लू लागेका वा रुघाखोकी लागेका बिरामीदेखि टाढै बस्न वा मास्क लगाउन र गाह्रो महशुस भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।