Close This

सर्लाहीका ४७ घर डुबानमा, आधा दर्जन घर भत्किए,बागमतीमा फसेका दुईजनाको उद्धार

पत्र पत्रिका    प्रकाशित: २०७७-४-६ गते   ३२० पटक हेरिएको

सर्लाहीका ४७ घर डुबानमा, आधा दर्जन घर भत्किए

अविरल वर्षाका कारण सर्लाहीका विभिन्न स्थानका बस्ती डुबानमा परेका छन् । पानीको निकास नहुँदा जिल्लाको दक्षिणी भेगका गाउँहरू डुबानमा परेका हुन् । डुबानमा परेका घरभित्र चार फिटभन्दा बढी पानी जमेका कारण स्थानीय विस्थापित भएका छन् । 

मलंगवा नगरपालिका–५ भाडसरमा लखन्देही खोलाको भेल बस्तीमा पस्दा २९ घरमा पानी पसेको छ । घरमा पानी पसे पनि पीडित परिवारलाई तत्काल अन्यत्र सार्नुपर्ने अवस्था भने नरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । ‘लखन्देही खोला गाउँमा पसेका कारण २९ घरमा पानी पसेको छ,’ प्रजिअ जिसीले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा उनीहरू विस्थापित नै हुने अवस्था छैन, तर पानी बढे वा थपिए सुरक्षित स्थानमा लैजानुपर्छ ।’ यस गाउँमा लखन्देहीको पानी यही मनसुनमा मात्रै दुईपटक गाउँ पसिसकेको छ । खोला गाउँमा पस्दा घरमा भएको अन्नपात सबै भिजेर काम नलाग्ने भएको स्थानीय राजु रायले बताए । उनले भने, ‘आफू त जसोतसो बसौँला, बालबालिकालाई के गर्नु ?’ अधिकांश भुइँतला घर रहेका कारण घरमा जमेको पानीका कारण पानीमाथि तैरिएर रात काट्ने गरेको स्थानीयको दुखेसो छ ।

डुबान क्षेत्रको जिल्ला विपत्  व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुखको टोलीले मंगलबार निरीक्षण गरेका छन् । डुंगाको सहाराले निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । चक्रघट्ट गाउँपालिका–५ स्थित पडरियामा ढेंग्राखोला पस्दा १८ घर डुबानमा परेका छन् । यो खोलाले बर्सेनि गाउँमा क्षति पुऱ्याउने गरेको गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले जानकरी दिए । डुबानपीडित स्थानीयलाई सुरक्षित स्थानमा सार्ने वा सोही स्थानमा पानी कटाएर सुरक्षित गर्ने भन्ने विषयमा तयारी भइरहेको गाउँपालिका प्रमुख यादवले बताए । घरमा जमेको पानीका कारण बालबालिकाको बिचल्ली भएको स्थानीय रामधुनी मुखियाले बताए । 

बागमतीमा फसेका दुईजनाको उद्धार
बागमती खोलाले बगाएर ल्याएको काठ तान्न गएका दुईजना बीचमै फसेपछि प्रहरी र स्थानीयले उद्धार गरेका छन् । बागमती नगरपालिका–१२ नयाँ बस्तीनजिकै बागमतीको भंगालोमा बाढीले बगाएर ल्याएको काठ तान्न गएका सोही स्थानका २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ खोलाको बीचमा फसेका थिए ।

यस्तै, केही दिनयताको वर्षा र बाढीका कारण घर भत्किँदा सर्लाहीका आधा दर्जन परिवार घरवारविहीन भएका छन् । ब्रह्मपुरी, विष्णु, चक्रघट्ट गाउँपालिका, लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाका माटो, बाँसको टाटी र काठले बनेका ६ वटा घर भत्किएर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए । https://nayapatrikadaily.com/

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech