दक्ष चिकित्सकको अभावमा आइसियु र भेन्टिलेटर थन्कियो,सर्पदंशमा आइसियु र भेन्टिलेटर विनै उपचार

455 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा दक्ष चिकित्सकको अभावका कारण आइसियु र भेन्टिलेटर लामो समयदेखि थन्किएको छ।जिल्लामा रहेको तीनवटा सर्पदंश उपचार केन्द्रहरु मध्य सबै भन्दा धेरै सर्पदंशका बिरामीहरु आउने सर्पदंशउपचार केन्द्र नवलपुरमा राखिएका आइसियु र भेन्टिलेटर दक्ष जनशक्तिको अभावका कारण लामो समयदेखि थन्किएको सर्पदंश उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव प्रसाद पौडेलले गुनासो गरे ।

2.jpg
 उनका अनुसार समय समयमा आवेदन मागेर दक्ष तिचकित्सकको माग गरिएकोमा पाँच जना चिकित्सकहरुको आवेदन परेकामा एक जना उत्तीर्ण भएपनि ती चिकित्सक नियुक्ति लिनै नआए पछि सर्पदंश उपचार केन्द्र नवलपुरमा लामो समयदेखि थन्किएको आइसियु र भेन्टिलेटर कहिलेबाट चलाउन पाईन्छ भन्ने अन्यौलता कायमै रहेको छ ।

3.jpg
सर्पदंश उपचार केन्द्र नवलपुरमै कार्यरत चिकित्सकसहित दुुई जना स्वास्थ्यकर्मीलाई धरान लगेर तालिम दिएर ल्याए पनि उनीहरु आइसियु र भेन्टिलेटर चलाउन डराउने गरेका कारण आइसियु र भेन्टिलेटर थन्किएको केन्द्रले जनाएको छ।सर्पदंश उपचार केन्द्र नवलपुरमा २०७६ असार २३ गते राति उपचारका लागि हरिवनबाट ल्याइएकी दुई वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएपछि मृतकको आफन्तले आइसियु र भेन्टिलेटर तोडफोड गरी स्वयंसेवकको रुपमा कार्यरत डा.अर्जुन लामामाथि हातपात समेत गरेका थिए ।

4.jpg
सो घटनापछि मधेश प्रदेश सरकारको रु ३० लाख र लालबन्दी नगरपालिकाको रु पाँच लाख गरी रु ३५ लाख खर्चिएर अर्को आइसियु र भेन्टिलेटर खरिद गरेर ल्याइए पनि अहिलेसम्म सञ्चालन हुन नसकेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।सर्पले डसेपछि गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई तुरुन्त आइसियु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने भएपनि आइसियु र भेन्टिलेटर विना अत्यन्त जोखिम मोलेर उपचार गर्दा बिरामीलाई तलमाथि भए आफू माथि नै आक्रमण हुने डर चिकित्सकमा रहेको केन्द्रले जनाएको छ ।
दक्ष चिकित्सक ल्याउँदा मासिक करिब दुई लाख तलब र भत्ता दिनुपर्ने अवस्था रहेपछि केन्द्र आर्थिक संकटमा रहेका कारण सो गर्न नसकिएको केन्द्रले जनाएको छ।सर्पले डसेका बिरामीलाई प्रयोग गर्ने एन्टिस्नेक भेनम सरकारले निःशुल्क उपलब्ध गराउने गरेको भए पनि अन्य औषधी र केमिकल केन्द्र आफैँले खरिद गर्दै आइरहेको छ।सर्पले डसेपछि उपचार गर्न आउने प्रतिबिरामी दुई हजार पाँच सय लिने गरेको केन्द्रले जनाएको छ ।केन्द्र सञ्चालन गर्न लालबन्दी,ईश्वरपुर,हरिपुर र हरिवन नगरपालिकाका साथै लालबन्दी नगरपालिकाका केही वडा कार्यालयले नियमित जसो बजेट विनियोजन गर्दै आइरहेका छन् भने,केन्द्रमा अहिले एक जना एमबिबिएस चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।
यता,लालबन्दी नगर अस्पतालमा कार्यरत चिकित्सकमध्ये कसैलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा खटाएर भए पनि भेन्टिलेटर र आइसियु सञ्चालन गर्ने प्रयास गरे पनि अस्पतालमा पनि आइसियु र भेन्टिलेटर चलाउन सक्ने दक्ष चिकित्सकको अभाव रहेको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए ।उनका अनुसार लालबन्दी नगर अस्पतालमा कार्यरत चार÷पाँच जना डा.मध्ये कसैले पनि आइसियु र भेन्टिलेटर चलाउन आउने नबताएपछि आइसियु र भेन्टिलेटर चलाउन नसकिएको हो ।

सम्बन्धित समाचार