सिन्धुलीको गोलन्जोरमा“जुनार प्रवद्र्धन मेला २०८२”बिहीबार सकिँदै

187 Shares

“गोलन्जोरको सान जुनार हाम्रो पहिचान,गोलन्जोरको जुनार, समृद्धिको आधार”भन्ने नारासहित सिन्धुलीको गोलन्जोर गाउँपालिकामा प्रथम जुनार प्रवद्र्धन मेला २०८२ मंगलबार बाट सुरुभई जारी रहेको छ ।सिन्धुलीको पहिचान बनेको मौलिक फल जुनारलाई कृषि पर्यटनसँग जोड्दै राष्टिूय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान विस्तार गर्ने उद्देश्यले पहिलो पटक गोलन्जोर गाउँपालिका ४ को तीनकन्या,माझ कुभिण्डेस्थित जुनार बगैँचामा मेला आयोजना गरिएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर राज बरालले बताए ।उनका अनुसार बगैँचाभित्रै भव्य रूपमा सुरु भएको मेलाले जुनार खेतीको ऐतिहासिक तथा आर्थिक महत्वबारे अवलोकन गराउने, स्थानीय कृषकलाई सम्मान गर्ने तथा कृषि पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथै प्रधानमन्त्रीदेखि स्थानीय कृषकसम्म सबैलाई आकर्षित गरेको छ ।
दर्शक पर्यटकका लागि जुनार बगैँचाको प्रत्यक्ष अवलोकन, बोटबाटै टिपेर खाने अनुभव, बगैँचा मै मनोरञ्जन,फोटो तथा भिडियो खिच्ने अवसर उपलब्ध गरिएको गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले बताए ।उनका अनुसार मंगलबारबाट सुरु भएको तीनदिने मेलामा विभिन्न जातजातिको सांस्कृतिक पहिरन झल्किने झाँकी,र्याली,कृषक समूह तथा सहकारी संस्थाहरूको सहभागिता मिलेर वातावरण अझै सांस्कृतिक र आकर्षक बनेको छ ।
जुनार उत्पादनमा देखिएका रोग(कीरा,खाद्यतत्व अभाव,प्रशोधनका चुनौती तथा बजार समस्या बारे कृषकले उठाउने प्रश्नमा कृषि विज्ञहरूले प्रत्यक्ष जवाफ दिने अन्तरक्रिया मेलाको प्रमुख आकषर्ण बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बरालले बताए ।
उनका अनुसार कृषकको समस्या सूक्ष्म रूपमा पहिचान गर्दै तत्कालीन र दीर्घकालीन समाधान बारे छलफल गरिने छ।मेलासँगै जुनारबाट बनेका जुस,स्क्वास, जाम, जेली,मार्मालेड,क्यान्डी लगायतका परिकारका साथै स्थानीय उत्पादन जस्तै अचार,ढाकाका सामग्री,कृषि उपज र मायाका चिनोको बिक्री तथा प्रदर्शनीका स्टलहरू पनि राखिएको आयोजकले जनाएको छ ।आयोजकका अनुसार मेला सम्पन्न गर्न करिब रु १६ लाख ५० हजार खर्च हुने छ । तीन दिनमा करिब नौ हजार अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने छन् ।सिन्धुलीमा कुल एक हजार एक सय १३ हेक्टर क्षेत्रफलमा जुनार खेती हुँदै आएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालकया अनुसार करिब ९० प्रतिशत अर्थात् एक हजार हेक्टर गोलन्जोर गाउँपालिकाकमा पर्छ ।दुई हजार सात सय ५० जना कृषकले गोलन्जोरका कृषकहरूले चालु आर्थिक वर्षमा करिब रु ३४ करोड १९ लाख ९० हजार बराबरको जुनार बेचेर आम्दानी गरेका कृषि विकास कार्यालय सिन्धुलीको अनुमान छ ।
जुनार खेतीलाई स्थानीय रोजगारी, पर्यटन,उद्योग र बजारसँग जोडेर दीर्घकालीन स्वरूपमा विकास गर्नुपर्ने उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।पहिलो पटक बगैँचा मै आयोजना गरिएको यस मेलाले कृषकको उत्साह बढाएको र सिन्धुलीको जुनारलाई अझ पहिचान दिलाउने विश्वास उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष श्रेष्ठले बताए ।मंगलबारबाट सुरु भएको प्रथम जुनार प्रवद्र्धन मेला २०८२ बिहीबार  सकिँदैछ्। 

सम्बन्धित समाचार