सर्लाहीको हरिवन नगरपालिका ४ पटौनाबाट प्रतिवन्धित लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।हरिवन नगरपालिका ४ पटौना स्थित भित्रि सडक खण्डबाट अन्दाजी १५ किलो दुई सय तीन ग्राम प्रतिवन्धित लागु औषध गाँजा सहित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ का अन्दाजी वर्ष २१ का सविन बललाई ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।

उनका अनुसार प्रदेश ३(०२(०१० प ८२९३ नम्बरको मोटरसाईकल मा अन्दाजी १५ किलो दुई सय तीन ग्राम प्रतिवन्धित लागु औषध गाँजा लिएर आएका बललाई शंका लागि चेकजाँच गर्दा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक किशोर तामाङको नेतृत्वको टोलीले मंगलबार बिहान नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएका बल सहित प्रतिवन्धित लागु औषध गाँजालाई ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमाराखेर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

सर्लाहीको उत्तरी चुरे क्षेत्रका साथै सिन्धुलीको हरिहरपुरगढी र मरिण गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्पादन भएको प्रतिवन्धित लागु औषध गाँजा सर्लाहीका विभिन्न सडक खण्डहरुको प्रयोग गर्दै छिमेकी देश भारत सम्म पुर्याउने गरेका पाइएको छ।पछिल्लो समय सर्लाही प्रहरीले सक्रियता देखाएपछि प्रतिवन्धित लागु औषध गाँजा सहित मानिसहरु र प्रतिवन्धित लागु औषध गाँजा ओसार पसारमा प्रयोग गरिएका सवारी साधनहरु नियन्त्रणमा आउने क्रम बढेको प्रहरी स्रोतको दाबी छ ।नेपाल भारत खुल्ला सिमानाका कारण सर्लाही, सिन्धुली र मकवानपुरको चुरे क्षेत्रमा उत्पादन भएको गाँजा सिधैँ भारत सम्म पुग्ने गरेको पाइएको छ ।