मधेशका विभिन्न जिल्लाहरुमा केही समय सुस्ताएको जस्तो देखिएको भन्सार छली र तस्करी ह्वात्तै बढेको पाइएको छ।तस्करहरुले समय मिलाएर सुरक्षा निकायलाई नै साक्षी राखेर भन्सार छली र तस्करी गर्ने गरेका पाइएको छ ।मधेशका आठ जिल्लाहरु मध्य कतिपय जिल्लाहरुमा तस्करीका लागि “लाइन” र “रुट” नबनाईएका भएपनि धेरै जिल्लाहरुमा सुरक्षाकर्मीहरुले मोटो रकम असुलेर “लाइन” र “रुट” दिएका रहस्य बाहिरिएका छन्।प्रहरी नीयमावली अनुसार सादा पोशाकमा प्रहरी कर्मचारी परिचालन गर्न नपाउने भएपनि मधेश प्रदेशका अधिकांश जिल्लाहरुमा सूचना संकलनको नाममा सादा पोशाकमा प्रहरी कर्मचारी परिचालन गरेर चर्काे रकम असुली तस्करीको “लाइन” र “रुट”निर्धारण गर्ने गरिएको पाइएको छ।जसको पहिलो उद्धाहरण हो सर्लाहीमा लामो समयदेखि सादा पोशाकमा रहेका असई तेज नारायण यादव र प्रहरी जवान मुकेश गुप्तालाई प्रहरी प्रधान कार्यालय तानिनु ।
विगत लामो समयदेखि सादा पोशाकमा रहेका असई यादव र प्रहरी जवान गुप्ताले समय समयमा प्रहरी आचरण विपरित सर्लाही भन्सार कार्यालयका कमर्चारीहरुलाई समेत फोन गरेर धम्क्याउने काम गर्ने गरेका थिए । यसरी तस्करीको रुट,समय र आयात निर्यातको तालिका बनाउन सुरक्षा निकाय नै सहयोगी बनेपछि सर्लाही सहित रौतहट,बारा,पर्सा र महोत्तरीका व्यापारीहरुलाई भन्सार छली र तस्करी गर्न भ्याइ नभ्याइ भएको छ।सर्वसाधारणले भारतीय बजारबाट किनेर ल्याएको सामान भन्सार कार्यालय हुँदै आउँदा खोस्ने र भन्सार दाखिला गर्ने गरेको देखाएर सर्लाही सहित रौतहट,बारा,पर्सा र महोत्तरीका ग्रामीण नाकामा महिनावारी नै तोकेर सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको पाईएको छ ।
सीमा सुरक्षा गर्न भन्दै सीमामा परिचालन गरीएका सशस्त्र प्रहरीका साथै नेपाल प्रहरी खटिएकमा भएपनि उनीहरुलाई मिलाए पछि तस्करलाई झन सहज भएको छ।सशस्त्र र नेपाल प्रहरीका घुमुवाले नै भन्सारछलीका सामानहरु ओसार पसारको तालिका र आम्दानीको रेट कायम गरेर तस्करलाई ढुक्कसँग लगानी र कारोबार गर्न सहज बनाउन तल्लीन देखिएका छन् ।उनीहरु जुर्मुराएर बीचमा कारोबार बन्द हुँदाका बेलाको क्षतिपूर्ति पनि उठाउन सकिन्छ कि भनेर उत्साहित भएका छन्।अहिले पुरानै शैली,नाका र प्रणालीमा तस्करीले लय लिएको छ ।
पर्साको अलौ र भिस्वाको जानकी टोल नाकाबाट ग्रामीण क्षेत्र हुँदै बाराको जीतपुरसम्म तस्करीका सामान सजिलै पुग्ने गरेका छन्।जीतपुरबाट देशका विभिन्न ठाउँमा सामान ढुवानी हुने गरेको पाइएको छ।यस्तै, अलौ नाकाबाट पनि दिनदहाडै तस्करी भइरहेको छ । यस्तै,छप्कैया र सिर्सिया नाकाबाट पनि ठूलो मात्रामा चोरी पैठारी मार्फत तस्करीको सामान आयात भइरहेको छ।खासमा सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रण गर्ने जिम्मा पाएपछि राजस्व संकलनको तथ्य देखाएर तस्करी रोकेको देखाइए पनि उनीहरुकै कारण देश टाट पल्टिँदै गएको व्यापारीहरु बताउँछन्।तस्करहरुले महिनाभर नै लाइन लिएर काम गर्ने गरेकामा अहिले सुरक्षा निकायकै संयोजनमा सामान तस्करीका लागि १५ दिनको “लाइन” दिने काम भइरहेको तस्करहरु नै बताउँछन् ।यसरी सेटिङ गरिएपछि दैनिक रातका समयमा भारतबाट भैँसी,राँगोका साथै चिनी,प्याज र आलुको समेत अवैध कारोबार बढेको छ ।
यस्तै,बाराको बलिरामपुर,मुसहरवा,छतवा नाकाबाट सशस्त्र र नेपाल प्रहरीको सहयोगमा व्यापकरूपमा तस्करी भइरहेको छ।तर तस्करी भइरहँदा पनि बाराको सशस्त्र र नेपाल प्रहरी मौन छ।तस्करले बाराको बलिरामपुर र मुसहरवाको नहरको बाटो हुँदै इटियाहीको बाटो प्रयोग गर्दै परवानीपुरमा दैनिक ५० देखि एकसय वटासम्म भैँसी राँगा राति १२ बजेदेखि ४ बजे तस्करीका लागि लाइन मिलाइएको छ ।भारतबाट सजिलैसँग भैँसी राँगा नेपाल आइरहेको छ।नाकाबाट दैनिक रातका समयमा भारतबाट भैँसी,राँगा अवैधरुपमा भित्र्याउने गरिएको भएपनि कुनै सुरक्षा निकायको त्यस तर्फ ध्यान पुगेको छैन् ।
बलिरामपुर,मुसहरवा,छतवा नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा व्यापकरूपमा तस्करी भइरहे पनि सशस्त्र र प्रहरी यो विषयमा मौनता साँधिरहेको छ ।राँगो र भैँसी मात्रै नभई प्रहरीको मिलेमतोमै अवैधरूपमा भन्सार छलेर विभिन्न सामग्रीको खुलेयाम तस्करी भइरहेको छ।भारतसँग सीमा नाका जोडिएको मटिअर्वा,मुसहरवा र छतवा नाका भएर अवैध रूपमा विभिन्न सामग्री तस्करी भइरहेको छ।प्रहरीकै मिलोमतोमा भारतबाट अवैध रूपमा विभिन्न सर्टिङ सुटिङको कपडा,गुट्खा,धान,माछा र किराना सामग्री नेपाल भित्रिइरहेको छ । बाराकै सीमानाका भएर भारतमा ठेलामा कबाडको तस्करी पनि भइरहेको छ।कवाडीको तस्करी भने अझ व्यवस्थित बनाइएको छ।जस्तो कवाडीको सामान निर्यात तालिका बनाइएको छ।यतिखेर तस्करी हुने भनेपछि ठेलाहरुको लाइन पहिले नै लागेको हुन्छ।जब संकेत आउँछ, १५ मिनेटमै कवाडका ठेला वारपार हुने गरेको छ।सिसिटिभी पनि चलिरहेको हुन्छ।प्रहरी पनि पहरा दिइरहेका हुन्छन्।कोही मोबाइलमा कुरा गरिरहेका हुन्छन्।कोही जुत्ताको लेस मिलाइरहेका हुन्छन्।हेर्दाहेर्दै भारतीय नाकाबाट नेपाल ल्याउने सामान पनि एकैछिनमा आइसकेको हुन्छ र भारत जाने कवाडको ठेला पार भइसकेको हुन्छ।यसरी सहजै कवाड तस्करीको रुट मिलाइएपछि अहिले नारायणगढ, हेटौँडादेखिका कवाड तस्कर खुशी भएका छन् र सक्दो कवाड संकलन गरेर वीरगंज र बारा पुर्याउने गरेका छन् ।
बारामा पछिल्लो दुई सातादेखि अवैध रूपमा विभिन्न नाका भएर दिनहुँ खुलेयाम तस्करी भइरहेको प्रहरी तथ्यांकले देखाएको छ । प्रहरी तथ्यांकअनुसार चैत १९ गते बारा प्रहरीले ३५ लाख ६४ हजार बराबरको जुत्ता,चप्पल,डाइपर,स्टेसनरी सामानसहित ट्रक नियन्त्रणमा लिएको थियो । त्यसयता बारा प्रहरीले कुनै पनि सामग्री पक्राउ गरेको छैन।एकदिन मात्रै तस्करी हुने त पक्कै होइन।एकदिन ठूलो मात्रामा सेटिङमा नभएकाको सामान समातेर चर्चा बटुल्ने र बाँकी समय सेटिङमा सामान आयातनिर्यातमा तस्करले नै बनाएको योजनामा सुरक्षा निकाय मौन बस्ने गरेको व्यापारी बताउँछन् ।त्यसैगरी सर्लाहीको ५१ किलो मिटरका पुरै नाकामा दिनदहाडै तस्करी भई रहेको छ । भरखरै सर्लाही प्रहरी प्रमुखको रुपमाआएकायोगेन्द्र बहादुर खड्काले कडा कुरा गरेपनि सिमाक्षेत्रबाट हुने तस्करी न्यूनिकरण तर्फ ध्यान नपुगेको जानकारहरु बताउँछन् ।
नयाँ डिआइजी,नाकानाकाबाट तस्करीको रुट
मधेश प्रदेशमा सशस्त्र प्रहरी कमान्ड सम्हाल्न डिआइजी कृष्ण ढकाल आएका छन्।नयाँ डिआइजी आएको मौका पारेर सीमावर्ती क्षेत्रमा तस्करी पनि बढेको छ। पर्साको विभिन्न नाकाबाट दिनदहाडै तस्करी भइरहेको छ र चेकजाँचको जिम्मा पाएको सशस्त्र प्रहरीको मौनताले राज्यको राजस्व गुमिरहेको छ ।भारतसँग खुला सीमाना जोडिएको पर्सामा तस्करी वृद्धि भएको छ।छप्कैया,सिर्सिया,अलौ, तिलावे, बर्वा, प्रसौनीभाठा, धोरे,पकहा, खेस्राहा, सबैठ्वा ,टिहुकी,भेडिहर्वा,आसबारी,जानकीटोला, पाँडेपुर, पिडारी गुठी,धुमाटार हुमाटार,महादेवपट्टी,सुवर्णपुर र विजयबस्तीजस्ता नाम चलेका नाकाबाट खुलेयाम तस्करी भइरहेको छ ।
आसबारी,जानकीटोला र पाँडेपुर नाकाबाट हुने तस्करीमा नेकपा एमालेका जिम्मेवार नेताहरु नै संरक्षक बनेका छन्।स्रोतका अनुसार,भैँसी र राँगोको तस्करीमा एमाले नेता जालिम मियाँ मन्सुरीको संलग्नता र संरक्षणमा सीमाका सुरक्षानिकायसँग सेटिङ छ।पर्साको जगरनाथपुर ४ का नेता मियाँका छोरा जफिर मियाँको जगरनाथपुर पशु हाट बजार छ।भारतबाट अवैध रूपमा ल्याइएका तस्करीको राँगाभैँसी त्यहीँबाट बिक्रीवितरण भइरहेको छ।आइतबार र बिहीबार पशु बजार लाग्ने गरेको छ । यसैको आडमा भारतीय सीमावर्ती गाउँबाट राँगाभैँसी ल्याउने गरिएको छ ।
यता,जानकीटोलामा दसवताका अफताब आलम सक्रिय छन्।उनले भारतबाट सक्खर तस्करी गरिरहेका छन् । दसवताकै उमेश गुप्ता र दिपक साहले नेपालबाट चिनियाँ लाइटर, १० फिटे इन्च टेपलगायतका चिनियाँ सामान, चुरोट, युनिलिभरको सामान फेयर एण्ड लभ्ली, फेयर लभ्लीको पाउच, प्रोस्टाइल तेल, क्लोजअप पेस्ट, नेपाली उत्पादित विभिन किसिमका पफ्र्युम र विभिन्न किसिमका क्रिम र भारतमा प्रतिबन्धित प्लास्टिकजन्य सामान तस्करीको लाइन लिएका छन्।आसबारी नाकाबाट गहुँ, धान, राँगोभैँसी र कुखुराको चल्लाको तस्करीको रुट चलिरहेको छ।यस्तै भेडिहर्वा, टिहुकी र चरगाहाबाट गहुँ, धान, घरेलु मदिरा तथा सिलप्याक मदिरा तस्करीको रुट चलाइएको छ।भारतमा बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएपछि नेपालबाट भारततर्फ घरेलु मदिरा र सिलप्याक मदिरा निर्यात भइरहेको छ ।
धोरे नाकाबाट किराना सामान तथा लत्ताकपडा, पाउडर दूध, हार्डवेयर, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, खानेतेल, चिनीलगायतका खाद्यान्न र कस्मेटिक सामानको तस्करी रुट चलिरहेको छ।प्रसौनीभाठा नाकाबाट लखनपुरका रामशंकर र रमेशसहित ५ जनाको समूहले भारतीय ब्रान्डका बच्चाले पिउने पावर दूध, काजु र चक्लेट तस्करी गरेका छन् । गर्दौलका सहनी थरका तस्करले भारतीय ब्रान्डका बच्चाले पिउने पावर दूध,काजु र चक्लेट तस्करीको लाइन पाएका छन्।प्रसौनीभाठामै अजय,जितेन्द्र,प्रकाश,रबिन्द्र साह र रबिन्द्र गुप्ताले किराना, सरफदेव ग्रुपले कपडा, अब्दुलले खसीबाख्राको तस्करीको रुट पाएका छन् ।
यस्तै, हरिनारायणले किराना,भारतका मुसहरवाका बिनय साहले जुत्ताचप्पल,सुर्तीजन्य सामान, राजनिवासले हार्डवेयर, मिठा, प्रकाश साह, सुनिल, अजय, मनोजले किरानाको लाइन चलाएका छन्।इन्द्रजीत र अनिलले कष्टमेटिक सामानको तस्करी लाइन चलाएका छन्।धोरे नाकाबाट कपडा, चक्लेट, किराना सामान र जुत्ताचप्पलको लाइन चलाइएको छ । सस्तो भारतीय पेय पदार्थ कोक, फेन्टा, स्प्राइट, म्यांगो जुस पनि तस्करी गरेर वीरगंज ल्याएर हेटौँडासम्म तस्करी भइरहेको छ । वीरगंजबाट हेटौँडा चल्ने इभि भ्यानमा पेय पदार्थ एक–एक थरिका चार कार्टुन एकपटकमा पठाएर तस्करी भइरहेको छ ।
भारतका विकास कुमारको टोलीले नेपालका तस्करसँग मिलेर अमरपट्टीमा संगठितरूपमा तस्करी लाइन चलाइरहेका छन्।चर्चित तस्कर उत्तम तिवारीसहितका समूह पनि यसमा संलग्न छन्।पर्साको बिन्दबासिनीका तिवारीसहितका समूहले अमरपट्टी नाकाबाट कपडा,पपकर्न बनाउने मकै र चिनियाँ सामान तस्करी गरिरहेका छन्।रातका समयमा कपडा,पपकर्न बनाउने मकै र चिनियाँ सामान तस्करीको रुट मिलाइएको छ ।
कुखुराको चल्ला तस्करीको काम स्वरुप र अन्य दुई जनाले गरिरहेका छन् । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्म यिनै तस्करले ल्याएको चल्लाबाट सञ्चालन भइरहेको स्थानीयको आरोप छ।पिकअप र रातका समयमा मोटरसाइकल तथा पैदल भरियाका माध्यमबाट ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्ममा चल्ला पुर्याउने गरिएको छ।अमरपट्टी,मधवल,झौवा,इटियाही, विश्रामपुर लगायत पाँच गाउँमा मात्र ८० देखि १ सय वटासम्म कुखुरा फर्ममा तस्करीकै कुखुराका चल्लाको रजगज छ ।
अमरपट्टी नाकाबाट जलाउ द्दिन लगायतकाले कबाडको तस्करी गरिरहेका छन्।अमरपट्टी नाकाबाटै भारततर्फ ठूलो मात्रामा हुण्डी तथा अन्य तस्करी भइरहेको छ।भारतीय संजय चौरसियाको संलग्नतामा नेतृत्वमा यो काम भइरहेको छ।यसका लागि जगरनाथपुरस्थित हड्डी फ्याक्ट्रीबाट कटिङ गरिन्छ।दर्जनौँ भरियाले साइकल प्रयोग गरी राति १० बजेदेखि बिहान ४ बजेसम्म सीमापार तस्करी गरिरहेका छन्।नेपालमा प्रति केजी २५–३० रुपैयाँमा खरिद गरिएको हुण्डी भारतमा प्रतिकेजी ५० रुपैयाँमा बेच्ने गरिएको छ ।
भारततर्फ लागुऔषध गाँजा तस्करी पनि भइरहेको छ।पर्साको पश्चिमी ग्रामीण सीमावर्ती क्षेत्र आसबारी,जानकीटोला,पाँडेपुर,पिडारी र भङ्हा बलुवा नाका प्रमुख ट्रान्जिट प्वाइन्ट हुन्।हरेक दिन मकवानपुरबाट गाँजा आयात भइरहेको छ र भारत निकासी भइरहेको छ । यसरी संगठितरुपमा विभिन्न तस्करीको लाइन चलेपछि सीमामा परिचालन भएका सुरक्षाकर्मी र उनीहरुको संगठन तथा कमाण्डरको भूमिका शंकास्पद बनेको छ।युनिट प्रमुखहरुको मिलेमतोविना तस्करी हुने सम्भावनै छैन ।
सबैठवा नाकाबाट सशस्त्र प्रहरीकै संरक्षणमा अवैध ओसारपसार मौलाएको स्थानीयको आरोप छ।भारतीय प्रसिद्ध बजार सिक्टासँग जोडिएको सबैठवा नाकाबाट पर्साका चर्चित तस्कर, कालिकामाई २ भेडिहारी निवासी बैला भनिने सत्रोहन साह रौनियारको समूहले लत्ताकपडा, जुत्ताचप्पल,कस्मेटिक सामान,चक्लेट र पावडर दूधको तस्करी चलाएका छन् ।
रौतहटको बंकुल छोटी भन्सार नाकाबाटै तस्करी भइरहेको छ।तस्करी बढ्नुमा नाका सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतो रहेको स्थानीय बताउँछन्।भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करको सक्रियता बढे पनि सुरक्षाकर्मी मौन देखिन्छन् ।बंकुल छोटी भन्सार,बडा बंकुल,नरकटियाबाट व्यापक मात्रामा तस्करी फस्टाएको छ ।
सीमा क्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करको सक्रियता बढेको छ।केहीदिन अघि तस्कर लेखेट्न सशस्त्र प्रहरी पछि लाग्दा तस्करले अर्को मोटरसाइकल यात्रीलाई लडाएर भाग्न सफल मात्रै भएनन्, ती सर्वसाधारणको ज्यानै गयो।भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करले यो नाकाबाट पनि प्रत्येक दिन हजारौँ कार्टुन मदिरा भारत पठाइरहेका छन्।बंकुल,नरकटिया नाकाबाट कपडा, कस्मेटिक सामान, चिनी, स्पेयरपार्ट, कुखराका चल्ला,लसुन,हुण्डी कारोबारीका साथै आलु, प्याजभित्र गाँजालगायत सामान खुलारूपमै तस्करी भइरहेको स्रोतको दाबी छ ।
यस्तै,बेलबिछुवा सशस्त्र प्रहरी नाकाबाट युनिटले तस्करबाट मासिक रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको आरोप बेलाबखत लाग्ने गरेको छ।बेलबिछुवा नाकाबाट संजय साह, सुरेश यादव,निरज सिंह,बिरेन्द्र सिंह,डाक्टर,मुकेश पट्टेल,अनिल र रूपेशले प्रमुख रूपमा तस्करीको लाइन चलाउने गर्छन्।सीमावर्ती क्षेत्रबाट तस्करी मौलाएपछि भन्सारले लक्ष्य अनुरूपको राजस्व संकलन गर्न सकिरहेका छैन।कपडा,खैनी,खाद्यान्न सामग्री,स्पेयर पार्टस्, भैँसीराँगो,कुखुरा,कस्मेटिक,हार्डवेयर,बिँडी बनाउने सुक्खा,चप्पललगायतका सामाग्री भारतबाट नेपालमा भित्रिने गरेको छ।नेपालबाट मदिरा,गाँजा,छोहाडा,मरिचलगायतका सामान भारततर्फ निर्बाध तस्करी भइरहेको छ।कुनै बेला भारतीय बजार बैरगनियाबाट रौतहटको नाका भएर भारतीय ट्याम्पोमा सशस्त्र प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी हुने गरेको बताइन्थ्यो । मासिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म दररेट तोकेर नाकाबाट व्यापारीलाई कपडा तस्करीको लाइन दिइएको चर्चा थियो ।सर्लाहीको छतौनादेखि संग्रामपुर सम्मको नाकाबाट सबै प्रकारका सामानहरुको तस्करी भएको छ ।
विवाह कार्डका नाममा तस्करी
पछिल्लो समय सर्लाही,रौहतट,बारा र पर्साका तस्करले सामान तस्करीमा नयाँ तरिका अपनाएका छन्।उनीहरुले विवाह कार्ड छापेर प्रहरीलाई देखाउँदै कपडा,सामान,चिनी,चामल लगायतको तस्करी संस्थागत गरेका छन्।वीरगंजबाट हेटौँडासम्म पनि विवाह कार्ड देखाएर चिनी र खाद्यान्न तथा कपडाको तस्करी हुने गरेको छ।