अत्यधिक विषादी भेटिएको बोडी नष्ट

383 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिको बजारमा किसानहरुले ल्याएर बेचेको बोडीमा अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको छ।ईश्वरपुर नगरपालिका ४ को सागरनाथ क्षेत्रका उत्पादन भएको बोडी लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिको बजारमा किसानहरुले ल्याएर व्यापारीलाई बिक्री गरिसकेको मिटर बोडीमा अत्यधिक विषादी प्रयोग भई उपभोग अयोग्य रहेको पाइएपछि नष्ट गरिएको लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद प्रसाद थपलियाले जानकारी दिए ।
उनका अनुसार तरकारी बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले गरेको परिक्षणमा बोडीमा ६० दशमलव ३०४ प्रतिसत अर्गानोफस्फेट नामक विषादीको अवशेष पाइएपछि नष्ट गरिएको हो ।तरकारीमा विषादीको मात्रा ४५ प्रतिसत भन्दा माथि भए खान अयोग्य हुने र त्यसलाई नष्ट नै गर्नुपर्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला लालबन्दीका नायब प्राविधिक सहायक दिलबहादुर राउतले बताए ।उनका अनुसार तरकारीमा विषादीको मात्रा ३५ प्रतिसत भन्दा कम भए उपभोग योग्य,३५ देखि ४५ प्रतिसतसम्म भए केही दिन क्वारेन्टाइनमा राखेर पुनः३५ प्रतिसत भन्दा कम आएमा उपभोग योग्य हुने तर ४५ प्रतिसत भन्दा बढी भए नष्ट नै गर्नुपर्ने प्रावधान छ ।
६० प्रतिसतभन्दा बढी विषादीको मात्रा भेटिएको ६७ केजी बोडी बजार नजिकै डुमडुमे खोलामा लगेर नष्ट गरिएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ।दुुई दिनअघि काठमाडौंको कालिमाटीमा लालबन्दीबाटै लगिएको बोडीमा यसैगरी अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो।लालबन्दी तरकारी बजारमा दैनिक १०÷१५ जना किसानबाट नमूना लिएर तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकाका नायब प्राविधिक सहायक राउतले बताए ।
किसानहरुबाट खरिद गरि सकेको बोडीको नमूना लिएर अत्यधिक विषादी रहेको भन्दै नष्ट गरिँदा आफूहरुको रकम डुबेको व्यापारीहरुको गुनासो छ।उपभोक्ता तथा व्यापारीहरुले हेर्दा सर्लक्क परेको र राम्रो देखिने तरकारी मात्रै किन्ने गरेको र त्यस्तो तरकारी फलाउन धेरै विषादी प्रयोग गर्नुपरेको किसानहरुको गुनासो छ ।

सम्बन्धित समाचार