मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्दै जनमत पार्टीका तर्फबाट दुई नयाँ मन्त्री नियुक्त भएका छन्।मधेश प्रदेश सरकारको उद्योग,वाणिज्य तथा पर्यटन मन्त्री र वन तथा वातावरण मन्त्रीमा जनमत पार्टीका दुई जनालाई मन्त्रीमा नियुक्त गरिएको हो।उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रीमा बसन्त कुशवाहा र वन तथा वातावरण मन्त्रीमा संजय कुमार यादवलाई नियुक्त गरिएको मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय मधेश प्रदेशले जनाएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा दुबै जनालाई प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन्।जनमत पार्टीले यसअघि आफ्ना सकील अलि मिया र त्रिभुवन शाह गरी दुई मन्त्रीलाई फिर्ता बोलाएको थियो। उनीहरूकै स्थानमा कुशवाहा र यादवलाई सरकारमा पठाइएको हो। कुशवाहा समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्य भएका हुन् भने यादव प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य सांसद हुन्।