नेपाल समाजवादी पार्टी (नेसपा)प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले सोमबार नेकपा(माओवादी केन्द्र)संग पार्टी एकता गर्ने बताएका छन्।आईतबार नेपाल समाजवादी पार्टी (नेसपा)को संयोजक भएका प्रदेश सभा सदस्य श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिए लगतै माओवादी केन्द्रसंग पार्टी एकता गर्ने बताएका हुन् ।केन्द्रीय पार्टी कार्यालय ललितपुरस्थित एकान्तकुनामा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको नेसपा सचिवालयले जनाएको छ।
गत चैत ३ मा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा)को पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले गरेको तीन बुँदे निर्णयको आधारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पनि आइतबारको बैठकले गरेको नेपाल समाजवादी पार्टी (नेसपा)को संयोजक भएका प्रदेश सभा सदस्य श्रेष्ठले जानकारी दिए ।उनका अनुसार जेठ १२ गते (सोमबार) ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा हुने छ ।
पूर्वसहमति अनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि प्रदेश सभा सदस्य श्रेष्ठ एकताको प्रक्रियामा अघि बढेका हुन्।२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठको पक्षमा उभिएका छन्।त्यसैगरी एक सय ६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना केन्द्रीय सदस्य माओवादी केन्द्रसंगको एकताको पक्षमा उभिएका संयोजक श्रेष्ठले जानकारी दिए।