सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।राष्ट्रिय आर्थिक गणना गर्न चार महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख एवम जिल्ला आर्थिक गणना अधिकारी टिका प्रसाद नेपालले जानकारी दिए ।उनका अनुसार पाँच जना सुपरिवेक्षक र ३० जना गणक नियुक्त गरेर चार महिनामा जिल्लाका नौ वटै पालिकाको आर्थिक गणना गर्न सिन्धुलीमाढी स्थित मधुटारमा कार्यालय स्थापना गरिएको हो ।
आर्थिक गणनाका लागि राष्ट्रिय तथ्यांक कार्यालयले सूचना जारी गरी आवेदन माग गरेको र सो अवधिमा अनलाईन प्रणालीबाट परेका निवेदनहरुको विभिन्न प्रक्रिया मार्फत छनोट गरी गणक तथा सुपरीवेक्षकहरुको सर्ट लिष्ट तयार परेर जिल्लास्थित कार्यालयलाई पठाएकाले सोही अनुसार छनोटको काम हुने पनि कार्यालय प्रमुख एवम जिल्ला आर्थिक गणना अधिकारी नेपालले बताए ।
कार्यालयका अनुसार सुनकोसी गाउँपालिकामा दुई जना चाहिनेमा चार जना,गोलन्जोर गाउँपालिकामा तीन जना चाहिनेमा छ जना,फिक्कल गाउँपालिकामा दुई जना चाहिनेमा चार जना,तीनपाटन गाउँपालिकामा चार जना चाहिनेमा आठ जना,हरिहरपुरगढी गाउँपालिकामा तीन जना चाहिनेमा छ जना,मरिण गाउँपालिकामा दुई जना चाहिनेमा चार जना,घ्याङ्लेक गाउँपालिकामा दुई जना चाहिनेमा चार जनाका साथै दुधौली नगरपालिकमा पाँच जना चाहिनेमा १० जना र कमलामाई नगरपालिकामा ११ जना चाहिनेमा २२ जना गरी ६८ जनाको नाम गणकहरुको सर्टलिष्टमा रहेको छ । सर्टलिष्टबाट ३० जना गणक छानिने छन् भने सबै स्थानीय तहहरुका लागि पाँच जना सुपरिवेक्षक चाहिनेमा १० जनाको नाम सर्टलिष्टमा रहेको छ ।
गणकहरुको यही चैत्र १६ गतेदेखि १८ गते सम्म र सुपरिवेक्षकहरुको चैत्र १९ गते छनोट अन्र्तवार्ता हुने कार्यालयले जनाएको छ । २०८३ असार मसान्त सम्म रहने कार्यालयले सो अवधिमा जिल्लाका नौ वटा पालिकाको आर्थिक गणना गर्ने छ ।छनौट भएका गणक र सुपरीवेक्षकलाई चैत २६ गतेदेखि ३० गतेसम्म तालिम प्रदान गरिने छ ।“अर्थतन्त्र मापनका लागि आर्थिक गणना”नाराका साथ जिल्लाभर दर्ता भएका र नभएका उद्योग प्रतिष्ठान तथा सानादेखि ठुला व्यवसायी कहाँ पुगेर गणना गरिने छ ।
सिन्धुली सहित देशभर २०७५ मा पहिलो पटक आर्थिक गणना भएको थियो।अब दोस्रो पटक आगामी बैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना कार्य हुँदै छ।आर्थिक गणना अभियान मार्फत नेपालमा उद्योगको अवस्था,रोजगारी सिर्जनाको अवस्था लगायतका विषय हेरिने छ।राष्ट्रिय आर्थिक गणनाबाट उद्योग,व्यापार,व्यवसाय,सेवा क्षेत्र,सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या,प्रकार,लगानी,रोजगारी,उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण संकलन गर्ने योजना अघि बढाइएको हो ।