बागवानी केन्द्र नवलपुरको आँप ५३ लाख बढीमा ठेक्का

312 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित रहेको दक्षिण यसिया कै सबै भन्दा ठूलो उष्ण प्रादेशिय बागवानी केन्द्र नवलपुरले चालु सिजनमा रु ५३ लाख भन्दा बढी मूल्यमा आँप बिक्री गर्ने ठेक्का लगाएको छ।केन्द्रले लालबन्दी नगरपालिका १ बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि चालु सिजनमा रु ५३ लाख ७१ हजारमा ठेक्का लगाएको केन्द्रका निमित्त प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिए।
उनका अनुसार दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचना अनुसार लालबन्दी नगरपालिका १ पुनर्वास स्थित रहेको सुरज निर्माण सेवाले उक्त मूल्यमा ठेक्का सकारेको हो ।
निमित्त प्रमुख यादवका अनुसार चालु सिजनमा आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको हो।गत वर्ष रु २१ लाख १५ हजारमा मात्र ठेक्का लागेको थियो। गतवर्ष आँप निकै कम फलेका कारण कम मुल्यमा ठेक्का लागेको भएपनि यस सिजनमा आँप राम्रो फलेका कारण राम्रो मुल्यमा ठेक्का लागेको हो ।
उत्पादन बढेकाले बागवानीले रु ७१ लाख ११ हजार एक सय २१ बिक्री मूल्य राखेर वैशाख १६ गते प्रथम पटक बिक्री सूचना निकालेको थियो।तर,१५ दिनको म्याद अवधिमा आँप ठेक्काको निवेदन नपरेपछि केन्द्रले फेरि गत जेठ १ गते रु ५१ लाख ७५ हजार मूल्य राखेर दोस्रो पटक सात दिनको लागि सूचना निकालेको थियो।ठेक्का लगाउने समयमा हावाहुरीले आँपमा क्षति गरेकाले ठेक्का मूल्य घटाउनु परेको केन्द्रका निमित्त प्रमुख यादवको भनाइ छ।अहिलेसम्मकै धेरै आर्थिक वर्ष २०७९÷०८० मा रु एक करोड ११ लाखमा आँप बिक्री गरेको केन्द्रले जनाएको छ ।
यहाँ करिब एक सय बिघा क्षेत्रफलमा आँपका करिब छ हजार रूख रहेका छन्।त्यसमध्ये वर्षेनि करिब तीन हजार पाँच सय बढी रुखमा मात्र फल लाग्ने गरेको छ।केन्द्रमा मालदह, दशहरी,बम्बइ,आम्रपाली,मल्लिका र निलमसहित करिब ३५ बढी जातको आँप उत्पादन हुने गरेको निमित्त केन्द्र प्रमुख यादवले बताए।

सम्बन्धित समाचार