नेपालका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा निष्क्रिय पत्रकारहरुको बाहुल्यता छ।पत्रकार महासंघको छाता संगठन नेपाल पत्रकार महासंघको नेतृत्व सम्हाली रहेका पदाधिकारीहरू आफैं पत्रकारिता पेशाबाट निष्क्रिय भएको विषयमा गम्भीर प्रश्न उठ्न थालेको छ ।प्रेस युनियन नेपाल,प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल लगायतका ठूला संगठनका धेरैजसो नेताहरूको आफ्नै मिडिया छैन,साना अनलाइन पोर्टल पनि चलाउँदैनन् र वर्षौंदेखि पत्रकारिता नै नगरेको तथ्यले संगठनको विश्वसनीयता र उद्देश्यमाथि नै शंका सृजना गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा नै पत्रकारिता पेशाबाट टाढा रहेकी छन्भने महासंघको नेतृत्व पंक्तिमा रहेका अधिकांश पदाधिकारीहरुले मिडिया सञ्चालन गर्नु त परै जाओस्,नियमित लेख,रिपोर्ट वा कुनै पनि पेशागत सक्रियता देखाएका छैनन्।प्रेस युनियनका अध्यक्ष शिव लम्साल केही वर्षअघि सम्म पत्रकारिता पेशामा सक्रिय थिए तर अध्यक्ष बनेपछि पत्रकारिता छाडेका छन्।उनका पूर्ववर्ती बद्री सिग्देलले पनि पत्रकारिता छाडेको धेरै वर्षपछि मात्र संगठनको नेतृत्व सम्हालेका थिए ।
यस्तै,प्रेस सेन्टर नेपालका निवर्तमान अध्यक्ष विष्णु सापकोटा(जुगल)ले पत्रकारिता गरेनन्। उनीपछि आएका अध्यक्ष कमल गिरी पत्रकारिता कर्मबाट टाढा रहेका छन्।उनको मिडिया छैन ।संगठनका बहुमत पदाधिकारीहरू पत्रकारिता पेशामा नलागेको भन्ने गुनासोहरू प्रेस सेन्टर नेपाल भित्रैबाट उठिरहेका छन्।
तर,केही अपवाद पनि देखिन्छन्।प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत हालसम्म सक्रिय पत्रकार हुन्।वर्तमान अध्यक्ष गणेश पाण्डे अनलाइन पोर्टल सञ्चालन गर्नुका साथै वृत्तचित्र निर्माणमा सक्रिय छन्।अधिकांश श्रमजीवी पत्रकारहरूबाट यस्तो प्रवृत्तिप्रति असन्तोष व्यक्त हुन थालेको छ।“निजामती कर्मचारी संगठनहरूका नेताहरू पद र जिम्मेवारी अनुसारको काम पनि गर्दैनन्,कुर्सीमा पनि बस्दैनन्,ट्रेड युनियनका नेताहरू कारखानामा काम गर्दैनन्,किसान नेता खेतमा पस्दैनन्,अहिले पत्रकार संगठनका नेताहरू पनि मिडियामा काम गर्दैनन् भने उनीहरूलाई पत्रकार भन्नै सकिन्न,”वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले भने ।
संगठनको नेतृत्वमा बस्नेलाई पेशागत रूपमा पत्रकारितामा सक्रिय हुनुपर्ने माग चर्किंदै आएको भएपनि पत्रकारिता नगर्नेले पत्रकारको हितका कुरा कसरी गर्छ ?भनी धेरैले आलोचना गरेका छन्।अर्का एक पत्रकारको भनाइमा,“अन्य व्यवसाय गरेर नाम कमाउन खोज्नेहरूलाई पत्रकार नेतृत्व दिनु अन्याय हो।कम्तीमा क्रियाशील पत्रकारले पत्रकार संगठनको नेतृत्व गर्न पर्छ ।”
यसै सन्दर्भमा,कतिपयले संगठनमा नेतृत्व छनोटको प्रक्रिया र मापदण्डमै सुधार गर्नुपर्ने सुझाव दिएका छन्।उनीहरूका अनुसार“सक्रिय पत्रकारलाई मात्र संगठनको जिम्मेवारी दिन सक्ने स्पष्ट नीति नआएसम्म संगठनहरू राजनैतिक भागबण्डाको औजार मै सीमित हुनेछन्।”नेपाल पत्रकार महासंघ,प्रेस युनियन नेपाल,प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले पेशागत मर्यादा, स्वतन्त्रता र पत्रकार हितका मुद्दा उठाउने उद्देश्य राखे पनि नेतृत्व तहमै निष्क्रियता देखिनु संगठनकै उद्देश्य विपरीत भएको भन्दै पत्रकारहरू भित्रै आलोचना बढ्दै गएको छ।यसो त नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा समेत सुधार ल्याउन र पत्रकारको परिभाषालाई व्यवहारत लागु गर्न आवश्यक रहेको अग्रज सञ्चारकर्मीहरुको सुझाब छ ।