सर्लाहीको हरिवन नगरपालिका १ मा का बलराम न्यौपाने राजनीति छाडेर कृषि कर्ममा लागेका छन् ।समाज परिवर्तनको लागि सुरु गरेको ३० वर्षे राजनीतिक यात्रालाई बिट मारेर न्यौपाने करिब डेढ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका हुन।क्रान्तिकारी आन्दोलन अगाडि बढ्ने अवस्था नरहेको साथै उत्पादन विना क्रान्ति अगाडि नबढ्ने र अहिले प्रतिक्रियावादी शक्तिहरु केन्द्रीकृत भई रहेको अवस्थामा क्रान्तिकारी शक्तिहरु विकेन्द्रीकरण भए पछि राजनीतिक भविक्ष्य नदेखेर कृषि कर्ममा लागेको न्यौपानेले बताए ।
करिब ४ बिघा जमिनमा रु एक करोड ३० लाख खर्चेर भौतिक पुर्वाधार सहित डाले घाँस भुई घाँस समेत आफ्नै उत्पादन गर्ने गरि प्रगति पशुपंकी कृषी फर्म नामक संस्था दर्ता गरेर गाई र बाख्रा पालन सुरु गरेको न्यौपानेले बताए ।
बिहान सबेरै उठेदेखि राति अबेरसम्म गोठमा रहेका बाख्रा,गाई स्याहार्नु,आहारको जोहो गर्नु र दूध बेच्नु न्यउौपानेकोे दैनिकी भएको हो।विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेको उनले आठ वर्ष विद्यार्थी राजनीति गरे,नेकपा(माओवादी केन्द्र)को योङ्ग कम्युनिष्ट लिग(वाइसिएल)नेपालको केन्द्रीय सदस्य हुँदै माओवादी केन्द्र सर्लाहीको नेता र पछिल्लो समय नेकपा(क्रान्तिकारी माओवादी)को जिल्ला सेक्रेटरी भएका उनी अहिले राजनीतिमा पुर्ण रुपमा निस्क्रिय छन्। तीस वर्ष राजनीति गरियो तर समाज र आफ्नो अवस्था जस्ताको तस्तै रहेपछि व्यावसायिक कृषिकर्मबाट समाजका केही व्यक्तिहरूलाई रोजगारी दिने र राज्यलाई कर तिरेर योगदान दिने योजना तर्फ मोडिएका न्यौपानेले गाउँका तीन जना बेरोजगार मानिसहरुलाई रोजगारी समेत सृजना गरेका छन् ।
सुरुमा पाँच वटा बाख्रा,एउटा गाई र एउटा भैँसीबाट सुरु गरेको फार्ममा हाल ७० वटा बाख्रा, आठ वटा गाई र दुई वटा भैँसी रहेका न्यौपानेले बताए।राजनीतिक क्रान्तिले ल्याएका परिवर्तनलाई स्थायित्व दिन पनि अब आर्थिक क्रान्ति आवश्यक रहेको निष्कर्ष सहित आफु व्यवसायीक कृषि कर्ममा लागेको न्यौपानेले सुनाए ।बाराको गढीमाई मेलाको समयमा करिब रु १२ लाखका बोका बिक्री गरेका न्यौपाने कृषि कर्ममा आत्मसन्तुष्टिका साथै आम्दानी पनि सन्तोषजन रहेको बताउँछन् ।
“भवितव्य बाहेक कृषि र पशुपालनमा धेरै घाटा हुँदैन।पशु चौपायाको गहँुत र गोबरबाट पनि फाइदा लिन सकिन्छ,अब हरेक नेपालीले कृषिमार्फत् आर्थिक रूपान्तरणमा योगदान गर्नुपर्छ। योभन्दा राम्रो विकल्प अर्को हुन सक्दैन।सरकारले पनि सोहीअनुसार नीति अवलम्बन गर्न आवश्यक छ।”न्यौपानेले बताए ।
न्यौपानेले पशुपालनबाहेक केही जमिनमा उखु र टमाटर खेतीलगायत खेती समेत गरिरहेका छन्।पशुपालन र खेतीपातीबाटै पारिवारको गर्जो टार्दै आएको उनले सुनाए।“कृषि कर्ममा लागेसंगै आम्दानीसँगै जीवनस्तरमा सुधार भएको छ।सन्तानको पठनपाठनमा सहज भएको, गाईभैँसीको करिब ५० लिटर दूध दैनिकजसो बिक्री गरिरहेका छु।”न्यौपानेले बताए ।
राजनीति समाज सेवा भएकाले आर्थिक उपार्जनका लागि हरेक नेताले कुनै न कुनै इलम गर्न जरुरी रहेको पनि उनको भनाइ छ। व्यवसाय विस्तार गरी चुरेको हावा पानी सुहाउँदो कुखुरापालन गर्ने योजना रहेको साथै पशुपालनबाट दूध,मासुसँगै मलमूत्रबाट बन्ने मल प्रयोग गरेर व्यावसायिक खेतीमा लाग्ने उनले बताए।