३ वर्षमा मधेशमा ३ सय बढीको करेन्ट लागेर मृत्यु

325 Shares

मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा विगत तीन वर्षमा करेन्ट लागेर हुने मृत्यु हुनेको संख्या तीन सय भन्दा बढी देखिएको छ ।मधेश प्रदेशका आठ जिल्लामा विगत तीन वर्षको अवधिमा मात्रै तीन सय २४ जनाले ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरले जनाएको छ ।
कार्यालयका अनुसार मृतकमध्ये अधिकांश किसानहरु रहेका छन्,जसले खेतमा सिँचाइका लागि मोटर चलाउने क्रममा अकालमा ज्यान गुमाउनु परेको छ ।धान खेतीको मौसममा वर्षा अभाव हुँदा किसानहरू बोरिङ,कुलो,पैनी वा पोखरीमार्फत मोटर प्रयोग गरी खेतमा पानी लगाउने बाध्यतामा छन्।तर विद्युतिय सावधानी नअपनाउँदा खेतमै करेन्ट लागेर ज्यान गुमाउने घटना वर्षेनी बढ्दो अवस्थामा छ ।
घरमा चापाकल वा सिटी रिक्सा चार्ज गर्ने क्रममा समेत करेन्ट लागेर दुर्घटनाहरू हुने गरेका छन्।यहि साउनमा मात्रै मधेसका विभिन्न जिल्लामा एकै परिवारका दम्पती सहित एक दर्जन भन्दा बढीले ज्यान गुमाएका छन् ।जसमा सप्तरी,सिरहा,धनुषा र रौतहटका किसानहरुको करेन्ट लागेर ज्यान गएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा एक सय सात जना,२०८०/०८१ मा ९८ जना र २०८१/०८२ मा एक सय १९ जना गरी तीन वर्षमा कुल तीन सय २४ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।यस अवधिमा करेन्ट लागेर दुई सय ३७ जना पुरुष, ५४ जना महिला र ३३ जना बालबालिकाको मृत्यु भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार असावधानी, अर्थिङ नगरी मोटर जडान गर्ने,असुरक्षित तारको प्रयोग,लापरबाही र पुराना पोल लाइनका कारण करेन्ट लागेर मृत्यु हुने दुर्घटनाहरू भइरहेका जानकारहरु बताउछन् ।
विद्युत प्रयोग बढेसँगै करेन्टबाट ज्यान जोगाउन सुरक्षित तार र उपकरण प्रयोग,घरमा अनिवार्य अर्थिङ तथा आरसिबी÷एमसिबी जडान, भिजेको हातले स्विच नछुने, पानी नजिक करेन्ट नचलाउने र मर्मत गर्दा स्विच बन्द गरी रबरका पञ्जा–चप्पल प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन् । 

सम्बन्धित समाचार