अत्याधिक गर्मीका कारण मधेशको जनजीवन प्रभावित

290 Shares

पछिल्लो केही दिन यताको उर्खमाउलो गर्मीका कारण सर्लाही सहित मधेश प्रदेशको जनजीवन आक्रान्त बनिरहेको छ।दिनभरको टन्टलापुर घाम र उच्च तापक्रमका कारण जनजीवन अत्यन्त प्रभावित बन्दै गई रहेको छ ।दिनभरको चर्को घाम र रातको समयमा समेत अत्यधिक गर्मी हुँदा दैनिकी असाध्य कष्टकर बनेको स्थानीयले बताएका छन् ।गर्मीका कारण मजदुर,किसान,विद्यालय जाने बालबालिका र यात्रु लगायत विभिन्न कार्यालयमा पुग्ने सेवाग्राही असाध्यै प्रभावित भएका छन् ।
चर्को घामले गर्दा यहाँ धानको ब्याड,मकै र तरकारी लगायतका बाली सुक्न थालेको किसानहरुले गुनासो गरेका छन्।अत्यधिक गर्मीका कारण किसानलाई पशु चौपाय र पंक्षी जोगाउन समेत मुस्किल परेको छ।बाहिर चर्को घाम लागेर तातो हावा चल्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरु गर्मीको मार खेप्न बाध्य भएका छन्।गर्मीका कारण रिङ्गाटा लाग्ने,टाउको दुख्ने,ज्वरो आउने र आँखा पाक्नेलगायत स्वास्थ्य समस्या हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।सकेसम्म दिउँसोको चर्को घाममा घरबाट ननिस्कन र निस्कनै परेमा छाता ओढ्न,शितल छहारीमा बस्न,पानी तथा सर्वत पिउन चिकित्सकहरुको सल्लाह छ ।मौसमविद्ले सरदरभन्दा झन्डै दुई हप्ता अघि नै मध्य जेठमा मनसुन नेपाल भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको बताएका छन्।मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार भोलिबाट देशभर मनसुन सक्रिय हुने छ ।

सम्बन्धित समाचार