बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमल कुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।बाराको पचरौता नगरपालिकाको ठेक्कासम्बन्धी सूचनालाई सार्वजनिक खरिद ऐन मिच्दै राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी स्थानीयस्तरको प्रभाव दैनिकमा मात्रै सूचना प्रकाशन गरेपछि उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
अख्तियारले विशेगा अदालतमा दाहेर गरेको उजुरी उपर विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष उपाध्यायलाई समान छ महिना कैद र रु एक लाख १७ हजार पाँच सय २० जरिवाना गर्ने फैसला सुनाएको हो।साथै मुद्दाको पूरक माग अनुसार रु तीन लाख ५२ हजार पाँच सय ६० बिगो कायम गरिएको छ।पचरौता नगरपालिकाका तत्कालीन लेखापाल हासिम मिया अन्सारीका विरुद्धपनि उजुरी रहेपनि उनले आदेश पालना मात्र गरेको र उनीविरुद्ध ठोस प्रमाण नपुगेको भन्दै उनलाई सफाई दिईएको विशेष अदालत स्रोतले जनाएको छ ।
वैशाख ७ गतेमात्र अध्यक्ष नियुक्त भएका उपाध्यायविरुद्ध अख्तियारले दुई दिनपछि नै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।उनले कृपा दैनिकका सम्पादक तथा प्रेस चौतारी नेपालका पूर्व सचिव समेतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।सञ्चारकर्मीसम्बन्धी निकायको नेतृत्वमै रहेका व्यक्तिबाटै भ्रष्टाचार पुष्टि हुनु निन्दनीय मात्र नभई भ्रष्टाचार विरुद्धको अभियानमा सरोकारवालै फसेपछि सञ्चार क्षेत्र माथि नै गम्भीर प्रश्न समेत उठाएको छ।