लागु औषध र चोरी तस्करीका घटनाहरु बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले नागरिकहरुसंग सार्वजनिक सुनुवाई गरेको छ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीहरु र स्थानीय जनप्रतिनिधिहरु तथा स्थानीयको विशेष उपस्थितिमा भएको ।सार्वजनिक सुनुवाई कार्यक्रममा लागू औषध ओसार पसार तथा प्रयोग,सार्वजनिक सुरक्षा सुस्त,राजश्व चुहावट,चोरी तस्करी र सवारीसाधन दुर्घटना तथा सुशासनका कुरा उठेका छन् ।
पछिल्लो समयको जेन जी आन्दोलनको फाईदा उठाउँदै लागू औषध ओसार पसार तथा प्रयोग बढेको,सार्वजनिक सुरक्षा सुस्त देखिएको,राजश्व चुहावट र चोरी तस्करी बढेको साथै सुशासन घटदै गएको भन्दै कार्यक्रममा सहभागीहरुले जिज्ञासा राखेपछि प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी र जिल्ला प्रहरी कायाृलय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले सम्बोधन गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले पछिल्लो समय पटक पटक चोरीका घटना घटेका कारण प्रहरीले आफ्नो गतिविधि बढाउनु पर्ने,मानसिक स्वास्थ्य समस्या र लागुऔषधको बढ्दो सेवनबारे सचेतना फैलाउन जरुरी रहेको बताए ।
त्यसैगरी सहभागीहरुले प्रहरी र जनप्रतिनिधिहरुले कार्यालयमा मात्रै बसेर नभई फिल्डमा खटिएर काम गर्न आग्रह गरे।लागुऔषधका कारण चोरी र अपराधका घटनासँगै युवा पुस्ताको जीवन नै बर्बाद बनिरहेको प्रति कार्यक्रममा सहभागीहरुले गम्भीर हुन सरोकारवालाहरुसंग आग्रह गरेका छन् ।
भारतीय नम्बरका सवारी साधनहरुको अनाधिकृत प्रयोगले नेपाली समाजमा अपराध र राजस्व छली बढी रहेकाले रोक्न माग गरेका छन् ।सहभागीहरुले प्रहरी कार्यालयमा अगुवा लिएर गएपछि मात्रै पीडितको गुनासो सुनुवाई हुने गरेको,राष्ट्रिय परिचय पत्र बनाउन हैरानी खेप्नु परेको,लालबन्दी सहित जिल्लाका बजार क्षेत्रहरुमा सवारी पार्किङ व्यवस्थित हुन नसकेको,ट्राफिक नियमको पालना नभएको,अवैध समान भित्रिँदा सही ढङ्गले व्यापार गर्ने व्यापारी मारमा परेका,सर्लाहीका अधिकांश होटलहरुमा यौनजन्य क्रियाकलाप बढेको र नगरपालिकाको राजस्व महँगो भएको जस्ता गुनासो राखेका छन् ।
सिमित स्रोत र साधनमा रहेर काम गरिरहेको प्रहरीलाई नागरिक समाज सक्रिय भएर साथ नदिएसम्म चोरी र लागुऔषधको ओसारपसार नियन्त्रण गर्न कठीन रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।अहिले नागरिक समाज,टोल विकास संस्था र सामुदायिक संघ÷संस्थालाई चोरी रोक्ने कार्यमा समन्वयात्मक भूमिका निर्वाह गरिदिन पनि उनले आग्रह गरे ।
चोरी रोक्न र लागुऔषधको ओसारपसार तथा सेवन नियन्त्रण गर्न अधिकतम प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक खड्काले बताए ।उनले बिना बर्दीको प्रहरी भनिने नागरिकले प्रहरीलाई साथ र सहयोगसहित निगरानी नगरे आफूहरुले मात्रै केही गर्न नसक्ने समेत बताए ।