सर्लाहीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्।देशभरी कै सबैभन्दा धेरै ११ नगरपालिका र नौ गाउँपालिका गरी २० स्थानीय तह रहेको सर्लाहीका सबै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० भित्र आ–आफ्नो पालिकाको वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार सर्लाहीका सबै पालिकाहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन ।
असार १० गतेभित्र नगर तथा गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्ने व्यवस्था अनुसार सर्लाहीका सबै स्थानीय तहहरुमा सौर्हादतापुर्ण रुपमा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ ।त्यसैक्रममा लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पना माया पाख्रिनले नगरसभाको १४ औँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन ।
लालबन्दी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको पुर्णपाठ“सिङ्गोे मुलुकको अर्थतन्त्र नै शिथिल रहेको अवस्थामा नगरको आन्तरिक अर्थतन्त्र समेत झनै कमजोर बनेको विद्यमान चुनौतिपूर्ण अवस्थालाई चिर्दै सिमित श्रोत साधनको मितव्ययी प्रयोगबाट असिमित आवश्यक्ताहरुको सम्बोधन गर्नको लागि आन्तरिक राजश्वका स्रोतको पहिचान र विस्तार गरी नागरिक मैत्री राजश्व प्रणालीको विकास गर्न तथा सो मार्फत सबै विषयक्षेत्रको सन्तुलित प्रबन्ध मिलाई नागरिकका अपेक्षा र नगरका प्राथमिकतामा आगामी बजेटमा मुखरित गर्ने प्रयत्न गरिएको छ।
चालु आर्थिक वर्ष २०८१/०८२ को प्रगति संक्षिप्तमा
चालु आर्थिक वर्षको लागि हामीले सामाजिक सुरक्षा तथा संरक्षण (सामाजिक सुरक्षा भत्ता) खर्च वाहेक रु एक अर्ब रु १६ करोड ५९ लाख १३ हजारको अनुमानित आय प्रस्तावित गरेका थियौं, उक्त अनुमान मध्ये हाल सम्म रु ९६ करोड ६२ लाख २३ हजार ४४ प्राप्त भई कुल अनुमान को ८२.८७ प्रतिशत आम्दानी प्राप्त भएको छ।खर्च तर्फ रु ७१ करोड ४३ लाख ६८ हजार पाँच सय ६३ खर्च भई ६१.२७ प्रतिशत खर्च प्रगति भएको छ।चालु खर्च तर्फ विनियोजित रु ६० करोड ९३ लाख ६७ हजार नौ सय ८९ मध्ये रु ४२ करोड ८३ लाख ३५ हजार सात सय ४१ खर्च भई कुल अनुमानको ७०.२९ प्रतिशत र पूजिगत तर्फ विनियोजित रु ५५ करोड ६५ लाख ४५ हजार ११ मध्ये रु २८ करोड ६० लाख ३२ हजार आठ सय २२ खर्च भई ५१.३९ प्रतिशत प्रगति हालसम्म भएको छ ।
त्यस्तै,सामाजिक सुरक्षा भत्ता वितरण तर्फ रु ३२ करोड ६९ लाख ७९ हजार अनुमान गरिएकोमा रु २५ करोड ३७ लाख १७ हजार तीन सय २० निकासा भएको र सो मध्ये हालसम्म रु २० करोड १३ लाख ७० हजार आठ सय सात वितरण भएको छ,चालु आर्थिक वर्षको अन्तिम त्रैमासिक निकासा र खर्च बाँकी रहेकोले अनुमान बमोजिम निकासा प्राप्त भएको रकम खर्च हुने सम्भावना छ। चालु आर्थिक वर्षको असार मसान्त सम्मै आम्दानी र बजेट खर्चहुने क्रम जारी रहने हुँदा आम्दानी र खर्चको प्रतिशत केही बढने निश्चित रहेको छ ।चालु आर्थिक वर्षमा आन्तरिक राजश्व अनुमान र असुलीको वीच ठूलो अन्तर देखिएको छ । हाम्रो अपेक्षा अनुरुप संघ तथा प्रदेश सरकार अन्तर सरकारी वित्तिय हस्तान्तरण र राजस्व बाँडफाँट अनुदान रकम प्राप्त हुन सकेको छैन। चालु आ.ब.को लागि स्वीकृत बजेट तथा कार्यक्रम समेत बजेट अभावले कार्यान्वयन हुन नसक्ने अवस्थामा पुगेका छ। चालु आर्थिक वर्षको बजेट खर्चको दवावलाइ समेत आगामी आर्थिक वर्षमा सम्बोधन गर्नु पर्ने भएको हुँदा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रममा संकुचन आउने देखिन्छ।आन्तरीक राजश्वका श्रोतहरुको सम्भावना प्रर्याप्त हुँदा हुँदै पनि वित्त परिचालनमा नगरपालिकाले समस्या भोग्नु परिरहेको छ। तसर्थ आगामी आर्थिक वर्षको बजेटले राजश्वको दायरा विस्तृत र नागरिक मैत्री कर प्रणाली अवलम्बन गर्नु पर्ने छ। सो तर्फ बजेटले प्रयाप्त ध्यान दिएको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका विशेषताहरु
क.नगरको पहिलो पञ्चवर्षिय आवधिक योजनालाई मध्यनजर गर्दै वजेट लाई यथार्थपरक वनाउने।
ख.स्रोतको सन्तुलित बितरण गर्ने।
ग.पूर्वाधार क्षेत्रमा वडा नगर साझेदारी कार्यक्रम प्रवद्र्धन गरी नागरिकले प्रत्यक्ष देख र महसुस गर्न सक्ने।
घ.स्वास्थ्य क्षेत्र सुधार,सामुदायिक शिक्षाको गुणस्तर अभिबृद्धि,कृषि तथा पशुपन्छी क्षेत्रको बिकास, खेलकुद, खानेपानीतथा सरसफाई,सडक,ढल संरचना,पर्यटन पुर्वाधार निर्माण,सिँचाई र सिमान्तकृत तथा लक्षि समुदायलाई सिप बिकासको माध्यमवाट स्वरोजगार बनाउने बजेटको प्राथमिकता रहेको छ।
ङ.लक्ष्य र तथ्यमा आधारित बिकास कार्यक्रम तर्जुमा र
च.सूचना प्राबिधिको अधिकतम प्रयोग मार्फत सुशासन अभिबृद्धि गर्ने।
छ.उत्पादनशिल क्षेत्रलाई प्राथमिकता दिई आत्मनिर्भर वनाउने।
विकासको मूल आधार वडा लाईनै बनाउने प्रयत्न बजेटले गरेको छ।विकास बजेटको अधिकांश हिस्सा वडा स्तरमै खर्च गर्ने गरी वडा तहमा पठाइएको छ। वडा तहको पूर्वाधार विकासका लागि रु. १० करोड ४९ लाख ७२ हजार पाँच सय र नगरस्तरीय विषयक्षेत्रगत आर्थिक विकास,सामाजिक विकास,पूर्वाधार विकास,वन,वातावरण र विपद् व्यवस्थापन,संस्थागत विकास एवम सुशासन र वडा नगर साझेदारी पूर्वाधार विकास कार्यक्रम तर्फ रु.१० करोड, ४९ लाख ७२ हजार सात सय २७ बजेट विनियोजन गरिएको छ।वडा नगर साझेदारी पूर्वाधार विकास कार्यक्रम प्रति वडा रु २० लाखका दरले र सोमा नगरबाट रु २० लाख थप गरी एक वडामा जम्मा रु ४० लाखको एक वडा एक ठुला पूर्वाधार विकास कार्यक्रम प्राथमिकतामा राखेको छु।वडा नगर साझेदारीको लागि नगरबाट रु. तीन करोड ४० लाख बजेट विनियोजन गरेको छु।
बढ्दो प्रशासनिक खर्चलाई घटाउने प्रयत्न गर्दा गर्दै पनि सामाजिक सुरक्षा कोषमा थपिएको अनिवार्य दायित्व,संघीय निकायबाट तोकिए बमोजिम सशर्त अनुदानबाट तलब भत्ता खाने कर्मचारीको पूरा अवधिको तलब नआएकोले स्थानीय तहमा थपिएको दायित्व, घाटा बजेटको कारण आगामी आर्थिक वर्षमा भुक्तानी दिनुपर्ने गरी थपिएको दायित्व,स्थायी कर्मचारीको प्रति महिना रु. तीन हजारको दरले थपिएको मंहगी भत्ता समेतलाई व्यहोर्नु पर्ने भएकोले प्रशासनीक तथा कार्यालय सञ्चालन चालु खर्च मा रु.१८ करोड विनियोजन गरेको छु ।आगामी आ.व. भित्रै नगर अस्पतालको निर्माण सम्पन्न गर्ने गरी बजेटको पर्याप्त सुनिस्चितता गरिएको छ ।
नगरको आफ्नै प्रशासनिक भवनको अभावमा सेवाग्राहीहरुले भोग्नु परेको सास्तिलाई मध्यनजर गर्दै दानविरबाट प्राप्त नगरको जग्गामा पाँच तल्ले नगर कार्यपालिकाको कार्यालयको प्रशासनिक भवन निर्माणधिन अवस्थामा रहेको छ।उक्त भवनलाई समेत आगामी आर्थिक वर्ष २०८२/०८३ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखी यथेष्ट बजेट छुट्याईएको छ ।
नगरमा आधारभूत गुणस्तरिय स्वास्थ्य सेवाको प्रवन्ध गर्न बजेटले मुख्य ध्यान पु–याएको छ । अस्पताल तथा स्वास्थ्य संस्थाहरुको पूर्वाधार निर्माण तथा मर्मत, औजार उपकरणको प्रवन्ध, औषधी व्यवस्थापन,स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच अभिबृद्धि गर्न नगर अस्पतालमा थप विशेषज्ञ सेवा सञ्चालन तथा मातृ तथा शिशु स्वास्थ्य प्रवद्र्धन र थप सेवा विस्तार समेत गरी स्वास्थ्य क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरेको छु।सार्वजनिक शिक्षाको गुणस्तर अभिबृद्धि गरी सवै बालबालिकाहरुलाइ सामुदायिक विद्यालयमा आकर्षिक गर्ने लक्ष्य बजेटले लिएको छ।शैक्षिक पुर्वाधार,शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि,अन्य शैक्षिक सामाग्रीहरुको प्रवद्र्धन,क्षमता विकास तथा उत्प्रेरणात्मक कार्यक्रमहरु तथा अभिभावक लक्षित कार्यक्रमहरु समेत बजेटले सम्बोधन गर्ने प्रयास गरेको छ। विद्यालयका प्रध्यानाध्यकलाई उच्च मनोवल दिलाउन व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी विच गतिशिल नेतृत्वदायी भुमिका निर्वाह गरी गुणस्तरीय शिक्षा प्राप्तिमा सवल बनाउने हेतुले प्राथमिक,आधारभुत र माध्यमिक तहका प्रध्यानाध्यपकलाई दिदै आएको भत्तामा प्राथमिक तह रु. तीन सय आधारभुत तह रु. पाँच सय र माध्यमिक तह रु.आठ सय थप गर्न आवश्यक बजेट विनियोजन गरेको छु।कृषि व्यवसायमा आश्रित कृषकहरुलाई मध्ये नजर गर्दै लालबन्दी र नवलपुर तरकारी बजारलाइ व्यवस्थित गर्ने रानिगञ्जमा तरकारी बजार शुभारम्भ गर्ने,कृषि क्षेत्रलाइ आधुनिक तथा व्यवसायीक बनाउने,खेतियोग्य सबै क्षेत्रमा सिँचाईको प्रवन्ध गर्ने,कृषकहरुको क्षमतामा बढोत्तरी गर्ने,विषादी रहित कृषि उत्पादनमा प्रोत्साहित गर्ने,माटो परिक्षण गर्ने,कृषकहरुको आयस्तरलाई बढोत्तरी गर्ने कार्यक्रमहरु प्रस्ताव गरिएका छन।पशु पालक कृषकहरुको उत्पादकत्व बृद्धि,बजार व्यवस्थापन र रोग नियन्त्रणका लागि एक पालिका एक भेटेरिनरी डाक्टरको सेवालाई आवश्यक बजेट प्रबन्ध गरेको छु साथै“पशुपन्छीको ना सुधार,उत्पादकत्व बृद्धिको आधार“भन्ने नारा सहित पशु नहा सुधार गर्ने लगायत पशु सेवा शाखा तथा पशु रोगको परिक्षणका लागि लालबन्दी नगरपालिका ६ मा निर्माणाधिन नयाँ पशु सेवा शाखा भवनको निर्माण कार्य आगामी आर्थिक वर्ष मै सम्पन्न थप प्रयोगशाला सञ्चालन गर्न आवश्यक बजेटको प्रवन्ध गरेकी छु।नयाँ पर्यटन गन्तव्यहरूको खोजी विद्यमान पर्यटकीय स्थलहरूको पूर्वाधार विकास गरी नगरलाई प्रदेशकै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य बजेटले लिएको छ।
नागरिकको सहज आवागमन व्यवस्था गर्ने,नागरिकको उत्पादन ढुवानीको सहजिकरण गरी लागत घटाउने कार्यका लागि सडक तथा पुल निर्माण कार्यलाई बजेटले प्राथमिकतामा राखेको छ। संघ सरकारसँगको समर्पक साझेदारीमा निर्माण सम्पन्न भएको कालिन्जोर खोला पुल आगामी आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालनमा ल्याइने छ।हालसम्म सडक सञ्जालसँग नजोडिएको मधेशको कर्णाली उपनामले चिनिने नारायणखोला पुल निर्माण कार्यसमेत आगामी आर्थिक वर्ष २०८२/०८३ भित्रै सम्पन्न गर्ने लक्ष्य राखी बजेट व्यवस्थापन गरिएको छ।नगरभित्र स्वच्छ खानेपानीको पहुँच नपुगेका ठाउँहरुको पहिचान गरी प्राथमिकताका साथ एक घर एक घारा जडान कार्यलाई बजेट प्रवन्ध गरेको छु।
लालबन्दी नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच हरित जलवायु कोषको सहयोगमा सञ्चालित पाँच वर्षे स्वच्छ चुलो कार्यक्रम सम्बन्धी भएको सम्झौता अनुसार यस नगरपालिकामा खाना पकाउन प्रयोग भईरहको परम्परागत ऊर्जाहरु (गुँईठा, दाउरा,कृषिजन्य अवशेष)तथा आयातिय इन्धनहरु (एल.पि.जी.,मट्टीतेल)को खपतलाई न्यूनिकरण गर्न तथा नगरवासीको मागलाइ मध्यनजर गर्दै आधुनिक तथा स्वच्छ चुलो कार्यक्रम अन्तर्गत विद्युतिय चुलो,तह तीनको सुधारिएको चुलो र घरायसी बायोग्याँस वितरण र जडान को लागत साझेदारी गर्न बजेट प्रवन्ध गरेको छु।अव्यवस्थित बसोबासी र सुकुम्बासीलाइ भूमिको मालिक बनाउन जग्गा नापजाँच श्रेष्ता तयारीको कार्य सम्पन्न गरिएर सो को लागि बजेट कमी नहुने व्यवस्था मिलाईएको छ।
यूवा वर्गको दक्षता र क्षमतालाइ नगरको उन्नतीमा उपयोग गर्ने नीति बजेटले लिएको छ। यूवाहरुलाइ दुव्र्यशनबाट टाढा राख्ने,खेलकुद पूर्वाधारहरुको निर्माण गर्ने,खेल क्षेत्रमा प्रशिक्षकको प्रबन्ध गर्ने,विद्यालय तहमा खेलकुद कार्यक्रम सञ्चालन गर्न बजेटले दिशानिर्देश गरेको छ। लालबन्दी नगरपालिका ६ मा वन क्षेत्रमा रहेको धेरै वर्ष देखि खेलमैदानको रुपमा उपभोग गरिदै आएको राधाकृष्ण खेलमैदानलाई नगर स्तरीय रंगशालाको रुपमा विकास गर्न यसलाई नगरको प्राथमिकता प्राप्त योजनामा राखी रंगशाला निर्माण गर्न जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउन आवश्यक बजेट विनियजन गरेको छु।यूवा,खेलकुद र रोजगारका क्षेत्रमा यथेष्ट बजेट प्रस्ताव गरिएको छ।महिलाहरूको मूल प्रवाहीकरणका लागि घरेलु हिंसा न्यूनिकरण,क्षमता विकास,सचेतना अभिवृद्धि,प्रजनन स्वास्थ्य तथा सिप विकास गरी आय आर्जनमा आवद्ध गराउने लक्ष्य बजेटले लिएको छ।नगरलाई बालमैत्री नगर बनाउने लक्ष्यका साथ राष्ट्रिय सूचकहरूमा आधारित भइ कार्यक्रम गर्ने गरी बजेट व्यवस्था गरिएको छ।
आदिवासी,जनजाति,थारु,मधेशी,दलित,मुस्लिम समुदायलाई मूल प्रवाहीकरण गर्न लक्षित कार्यक्रम सञ्चालन गर्ने गरी आवश्यक बजेट छुट्याइएको छ।सहकारी क्षेत्रको क्षमता विकास गरी सहकारीलाई जनताको भरपर्दो साथीको रूपमा स्थापित गर्न सहकारी क्षेत्रको क्षमता विकासका कार्यक्रमहरू बजेटमा प्रस्ताव गरेको छु।निजी क्षेत्रसँगको साझेदारी बिना उद्योग तथा वाणिज्य क्षेत्रको विकास सम्भव नहुने तथ्यलाई मध्यनजर गर्दै सरोकारवालाहरूको साझेदारीमा उद्योग र व्यवसाय दर्ता सहजिकरण गर्ने प्रयास गरिएको छ।व्यवसाय दर्ता महाअभियान तथा उद्योग,व्यापार तथा खाना मेला गर्न बजेट प्रस्ताव गरिएको छ।
भाषा तथा संस्कृतिको संरक्षणको लागि सम्बन्धित समुदायलाई आफ्नो मातृभाषामा बोल्ने र लेख्ने सीप प्रदान गरिनेछ।मूर्तिकला,काष्ठकला तालिममा ध्यान दिइनेछ।समुदायका विशिष्ट पहिचानका नृत्य तथा गायकलाई प्रशिक्षण दिइनेछ।साहित्य प्रति उत्प्रेरित गर्न साहित्य लेखन तालिम,साहित्यकारको सम्मान जस्ता कार्यक्रम सञ्चालन गरिनेछ।सोको लागि आवश्यक बजेट छुट्याएको छु।सञ्चार जगतले नागरिक र सरकारलाई जोड्ने काम गर्छ,तसर्थ सञ्चार जगतसँगको सहकार्यबाट नागरिक र सरकारको सम्बन्ध सुमधुर हुन्छ भन्ने तथ्यलाई आत्मासाथ गर्दै स्थानीय सञ्चार माध्यमको संरक्षण कल्याणकारी सूचना तथा विज्ञापनहरूको सन्तुलित वितरण पत्रकार तथा मिडियाकर्मीहरूलाई विषय क्षेत्रगत तालिम प्रदान गर्न बजेट विनियोजना गरिएको छ।
वन क्षेत्रको प्रवद्र्धन गर्न सामुदायिक वन भित्र फलफुल तथा उच्चमूल्यका काष्ठजन्य वनस्पति रोप्नका लागि वन उपभोक्तासँग सहकार्य गर्ने,तथा नदी उकास तथा ऐलानी जग्गामा सार्वजनिक वागवानी स्थापना गर्ने,राजमार्गमा सौन्दर्यकरण प्रयोजनका लागि बृक्षारोपण गर्ने कार्यका लागि बिरुवा खरिदमा आवश्यक बजेट विनियोजन गरेको छु।संघ तथा प्रदेश सरकारसँगको समन्वयमा ठुला नदी कटान नियन्त्रण आयोजना सञ्चालन गरिनेछ।साना नदी तथा डुवान क्षेत्रको समस्या निराकरण गर्न बजेटको व्यवस्था गरिएको छ।विपदमा परेका नागरिकका जनधनको सुरक्षा गर्न र विपद पश्चात राहत र पुनस्र्थापना गर्ने नगरको दायित्व कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको छ।विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिने व्यवस्था मिलाइनेछ।
कानूनहरुको तर्जुमा तथा पुनरावलोकन र न्यायिक समितिको कार्यसम्पादन क्षमता सवलीकरण गर्न आवश्यक बजेट विनियोजन गरेको छु।नागरिकलाई प्रविधिमैत्री सेवा प्राप्तिमा सहज र झण्झट रहित वातावरण श्रृजना गर्न आवश्यक पूर्वाधार तथा तालिमका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकासका लागि आवश्यक विषयगत तालिम र प्रविधि उपयोग गर्ने जनतामा अभिवृद्धि गर्न बजेट व्यवस्था गरेको छु।
छात्रबृत्ति,स्वास्थ्य विषेशज्ञ सेवा,कृषि,पशु विकास जस्ता गत वर्ष सञ्चालित जनउपयोगि कामका असल अभ्यासलाइ निरन्तरता दिइनेछ।साना तिना योजना, धार्मिक मठ मन्दिर, सिँचाइ, खानेपानी,शिक्षा स्वास्थ्य अधुरा काम आकस्मिक रुपमा पुरा गर्न स्रोतको सुनिश्चितता गरिनेछ।रेडक्रश, सर्पदंश उपचार केन्द्र, अपाङ्ग पुनर्थापना केन्द्र,बृद्धाश्रम व्यवस्थापन,मानव सेवा आश्रम,प्रहरी साझेदारी,जनज्योति क्याम्पस व्यवस्थापन,रङगशाला निर्माण,योगध्यान केन्द्र जस्ता सिङ्गो नगरका जिम्मेवारीका विषयहरुमा वडा र नगरको संयुक्त साझेदारी स्थापीत गर्ने व्यवस्था गरिएको छ ।
औधोगिक ग्राम,फोहोरमैला प्रशोधन केन्द्र,ढल सञ्चाल गुरुयोजना लगायत अन्य पर्यटकीय पूर्वाधारहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न पर्याप्त बजेट छुट्याईएको छ।लालबन्दी ईश्वरपुर र हरिपुर नगरपालिकाहरुको संयुक्त लगानीमा बरुण यन्त्र सञ्चालनको लागि बजेट व्यवस्थापन भएको छ ।राजमार्गको उत्तरी क्षेत्रमा तामाङ संग्राहालय निर्माण शुभारम्भ गर्ने र लालबन्दी नगरपालिका ३ भैरवपुरमा निर्माणाधिन थारु संस्कृति संग्राहालयको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।नगरको व्यस्त सडक सडक नजिकका विद्यालय व्यापारी क्षेत्रमा हुने अपराधिक कृयाकलाप न्यूनिकरण गर्न सिसिटिभि जडानको लागि बजेट विनियोजन गरेको छु ।
उपरोक्त आयोजना तथा कार्यक्रम सञ्चालन तथा नगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागी कुल रु. एक अर्ब ५० करोड ४० लाख ४५ हजार दुई सय २७ को आय तथा व्यय अनुमान पेश गरेको छु ।आय तर्फको श्रोत सूची र व्यय तर्फको खर्चका क्षेत्रहरु यसैको साथ संलग्न अनुसूचीमा संलग्न गरेको छु।बजेट प्रस्ताव गर्दा आन्तरिक आयको अनुमान अझैपनि तथ्य परक बन्न सकेको छैन।राजा सुधारको लागि अध्ययन गरी प्रतिवेदन तयारी कार्य भैरहेको छ।सो प्रतिवेदनले आगामी दिनमा स्पष्ट मार्ग निर्देशन गर्ने विश्वास गरेको छु।नदीजन्य पदार्थहरुको उत्खनन् तथा व्यवस्थापन कार्यलाई अझ बढी बैज्ञानिक बनाउने,नक्सपास प्रणालीलाइ संस्थागत गर्ने,व्यवसाय दर्ता र बहाल कर महाअभियान सञ्चालन गर्ने,जग्गा बिक्री कार्यलाइ कानूनी दायरामा ल्याउने,जस्ता कार्यमा क्रियाशिल हुन सके आन्तरिक राजश्व बढोत्तरी तत्काल हुन सक्ने अवस्था छ।यसका अतिरिक्त सार्वजनिक पोखरी तथा बागवानीहरुको व्यवस्थापन र सञ्चालन, पर्यटकीय पूर्वाधारहरुको विकास र विस्तार तथा निर्माण भएका व्यवसायिक कम्प्लेक्सहरुको निर्माण र सञ्चालन गर्ने हाम्रो सोचले दिर्घकालिन रुपमा लालबन्दी नगरलाइ आत्मनिर्भरता तर्फ उन्मुख गराउने विश्वास छ।बजेट तर्जुमा गर्दा यथासम्भव सबै नागरिक समुदाय, सरोकारवाला क्षेत्र,भू–गोल,सबै विषयगत क्षेत्रहरुलाई समेटी सन्तुलित बनाउने प्रयत्न गरिएको छ । सकेसम्म बजेट नगरका नागरिकले अपेक्षा गरेका प्राथमिकताका क्षेत्रमा केन्द्रीत छ। यद्यपी हामी जनप्रतिनिधी तथा कर्मचारीहरुको दक्षता एवं समयको दबाब आदीका कारण नगरले सम्बोधन गर्नै पर्ने विषय क्षेत्रहरु छुटेका हुन सक्छन।बजेट कार्यान्वयनको क्रममा नगर कार्यपालिकाले आवश्यक ध्यान दिनेछ भन्ने विश्वास दिलाउन चाहान्छु।