प्रेसमाथि राज्यको नियन्त्रण स्वीकार्न नसकिने नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले बताए ।नेपालको संविधान २०७२ को प्रस्तावनामा नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएकाले पछिल्लो समय राज्य आमसञ्चार क्षेत्र नियन्त्रण गर्न उद्यत देखिएको उनले बताए ।“हालैमात्र नेपाल खबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउने आदेश आएलगत्तै दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ,कार्यकारी सम्पादक एमपी सुब्बा तथा दृष्टि मिडिया प्रालिलाई विशेष अदालतको पूर्ण इजलासले मंगलबार तीन दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ । अदालतको उक्त आदेश लोकतन्त्र र स्वतन्त्र प्रेस विरोधी छ।”अध्यक्ष गिरीले बताए ।
समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सक्ने कानुनी व्यवस्था हुँदाहुँदै अदालतको पूर्ण इजलासले दृष्टि मिडियालाई तीन दिनभित्र जवाफ पेस गर्न आदेश दिएपछि संविधानले ग्यारेन्टी गरेको स्वतन्त्र प्रेसको मान्यतामाथि नै प्रश्न चिह्न खडा गरेको उनले बताए ।“समाचार चित्त नबुझेमा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल छ।तर,प्रेस काउन्सि नेपाललाई समेत थाहा नदिई प्रेससँग असम्बन्धित कानुन आकर्षित गरेर पत्रकारलाई डर–त्रास देखाउने राज्यबाट हुँदै आएको छ।यो निन्दनीय छ ।” अध्यक्ष गिरीले भने,संविधानले नै सुरक्षित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अदालत हावी हुन नहुने उनको भनाइ छ ।“स्वतन्त्र प्रेस नियन्त्रण गर्नु भनेको संविधानकै विरोध गर्नु हो किनकि, नेपालको संविधानले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मौलिक हकका रुपमा ग्यारेन्टी गरेको छ ।”उनले थपे ।
न्यायिक क्षेत्रले प्रेसको अधिकारमाथि गरेको अतिक्रमणको समयमै पत्रकारिता क्षेत्रबाट सशक्त प्रतिवाद हुन नसक्दा यस्तो परिस्थिति उत्पन्न भएको उनको ठम्याई छ ।प्रेसको अधिकारमाथि आक्रमण गर्ने वा अतिक्रमण गर्ने तर प्रेससँग सम्बन्धित त्यस्ता अधिकारका लागि लड्नुपर्ने व्यक्तिहरुले सही ढंगबाट प्रतिवादमा एकीकृत ढंगले लाग्न जरुरी रहेको उनले बताए ।पछिल्लो समय विभिन्न मिडिया र पत्रकारहरु माथि राज्यको न्यायिक क्षेत्रले क्षेत्राधिकार भन्दा बाहिर गएर समाचारको विषयलाई तोडमोड गरी मुद्धा मामिला बनाई तर्साउने कार्यमा सक्रिय देखिएको छ ।