पुर्व पश्चीम राजमार्गको पथ्लैया देखि बर्दिवास सम्मको सडक छेउमा यतिबेला बाँदरहरु छ्याप्छयाप्ती देखिन्छन् । जंगलमा पाइने खानेकुरा खाएर बाच्दै आएका बाँदरहरु पछिल्लो समय बस्ति छेउछाउ र राजमार्ग छेउमा खानेकुराको खोजिमा देखिन्छन ।
मौसम अनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदरहरु राजमार्गको छेउमा देखिएका छन् । राजमार्गमा यात्रा गर्नेहरुले खानेकुरा दिन थालेपछि बाँदरहरु परजीवि जस्तै बन्न थालेका छन ।
राजमार्गमा यात्रा गर्ने कतिपय मानिसहरुले बाँदरलाई बिस्कुट,पाउरोटी चाउचाउ,फलफुल,मुहरी लगाएतका खानेकुरा दिने गर्छन्। जसका कारण बाँदरहरुकन्दमुल खोज्न छाडेर राजमार्गहरुमा आउने मानिसहरुको भरमा भोक मेटाउन कुरेर बसेका देखिन्छन् ।
“बाँदरले रुचाउने वनमा पाइने जामुनु,कुसुम,हर्रो,बर्रो,भलायो,खन्यु,कुरिलो,निगुरो,तरुल, फलफूल र कन्दमूल मासिँदै गएपछि राजमार्ग र बस्तिमा बाँदर आउन थाले ।”फुलजोर बाबा सामुदायिक वन समुहका अध्यक्ष पशुपती खड्काले बताए । उनका अनुसार जंगलमा सहज रूपमा खानेकुरा पाउन छाडिएको र राजमार्गमा मानिसहरुले खानेकुरा दिन थालेपछि बाँदरले जङ्गलमा खानेकुरा खोज्न छोडेर राजमार्ग कुर्न थालेका हुन ।
“बाँदरका लागि वनमा पर्याप्त खानेकुरा भए पनि बाँदर खोज्न जाँदैनन्।”डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख डिभिजन वन अधिकृत मन्जुर अहमदले बताए । उनका अनुसार मानिसहरुले राजमार्गमा बाँदरलाई खानेकुरा दिदा बाँदरका साथै केही सवारी साधनहरु पनि दुर्घटनामा पर्ने गरेका छन् ।
विगत करिब ५० वर्ष पहिला निर्माण भएकोपुर्व पश्चीम राजमार्ग अहिलेको सवारीको चाप अनुसार सांघुँरो भएको छ,त्यसमा पनि यात्रीहरुले बाँदरलाई खाने कुरा दिँदा बाँदरहरु अचानक बाटो काट्ने,बाटामा कुद्ने गर्दा सवारी दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले बताए । उनका अनुसार आफ्ना सवारीसाधनहरु रोकेर राजमार्ग भन्दा अल िटाढा गएर खानेकुरा दिँदा त ठिकै हो तर सवारी साधनहरु हुईकी रहेको अवस्थामा झ्यालबाट दिईने खानेकुराले गर्दा बाँदरहरु बाटो काट्ने र बाटामा कुद्नेगर्दा सवारी साधनहरुका साथै बाँदरहरु दुर्घटनामा पर्ने गरेका छन् ।