Close This

बागमती मोडेल हस्पिटलले पाँच महिनाअघि म्याद गुज्रिएको औषधि बेच्यो,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-३१ गते   ६४ पटक हेरिएको

सर्लाहीको बागमतीमा रहेको एक अस्पतालले बिरामीलाई पाँच महिनाअघि नै म्याद गुज्रिएको औषधी बिक्री गरेको पाइएको छ । बागमती नगरपालिका–१२, वीर गोर्खाली चौकमा रहेको बागमती मोडेल हस्पिटलले मोटरसाइकल दुर्घटनामा परेर उपचार गर्न पुगेका बिरामीलाई अंग्रेजी महिना गत मार्चमै म्याद सकिएको औषधी बिक्री गरेको पाइएको हो । 
हरिवन नगरपालिका–३, सासापुर घरभई बागमती नगरपालिका–९, मा बसोबास गरि रहनु भएका मिलन लामालाई साउन २२ गते अस्पतालकै फार्मेसीबाट ५ महिनाअघि म्याद सकिएको क्याल्सीयम र भिटामिन डी–थ्रि ट्याब्लेट दिएको खुलेको हो । लामाका भिनाजु वुद्धिमान लामाले अस्पतालले लापरवाही ढंगले आफूहरुलाई म्याद गुज्रिएको औषधी दिएको बताएका छन् । अस्पतालमा दोहो¥याएर औषधी लिन जाँदा पनि पुनः म्याद गुज्रिएकै औषधी दिएर पठाएको उनले बताएका छन् ।
‘पहिलो पटक औषधी लिँदा मार्चमै म्याद सकिएको औषधी दिएर पठाएका रहेछन्, पछि घरमा आएर खानेबेला थाहा भयो,’ बिरामीका भिनाजु लामाले भने, ‘फेरि दोहो¥याएर जाँदा त्यही म्याद गुज्रिएकै औषधी दिएर पठाइयो । यसबाट अस्पतालले जानाजान बिरामीको स्वास्थ्यमा खेलवाड गरेर चरम लापरवाही गरेको प्रष्ट हुन्छ ।’ उनले बताए ।
अस्पतालले पनि बिरामीलाई म्याद गुज्रिएको औषधी बिक्री भएको स्वीकार गरेको छ । अस्पतालका संचालक डा. उपेन्द्र महतोले फार्मेसीका कर्मचारीको गल्तीका कारण बिरामीलाई म्याद सकिएको औषधी बिक्री भएको स्वीकार गरेका छन् ।
डा. महतोले बिरामीलाई जानजान नभई भूलवस् म्याद गुज्रिएको औषधी बिक्री हुन पुगेको बताएका छन् । ‘म्याद गुज्रिएको औषधी बिक्री भएकै हो, यो कुरा म स्वीकार गर्छु,’ डा. महतोले बताए । उनका अनुसार म्याद गुज्रिएको औषधी सेवन गर्दा बिरामीमा कुनै प्रतिअसर नदेखिएको र औषधी सेवनबाटै बिरामीलाई केही समस्या भएमा अस्पतालले जिम्मा लिने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech