सर्लाही र रौतहटको सीमा स्थित बागमती खोलाको मलाहटोल तथा हरैया घाटमा भइरहेको अन्धाधुन्ध उत्खननको विषयमा सर्लाही र रौतहटकाका जनप्रतिनिधि र सुरक्षा अधिकारी बिच छलफल भएको छ ।गत आइतबार सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साह कलवार सहित सर्लाहीका सुरक्षा प्रमुख,जनप्रतिनिधि, कर्मचारी र स्थानीयसहितको टोली अनुगमनमा पुग्दा बागमती खोलामा अनियन्त्रित उत्खनन भइरहेको पाइएको थियो।
त्यसपश्चात बुधबार बरहथवा नगरपालिकामा भएको दुवै जिल्लाका सम्बन्धीत पालिकाका प्रमुखहरु र सुरक्षा अधिकारी सहितको छलफलले सीमा विवाद र ठेक्का नलागेको ठाउँमा तत्काल उत्खनन रोक्ने निर्णय गरेको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले जानकारी दिईन् ।
सर्लाहीतर्फ बरहथवा नगरपालिका–१ हजरिया स्थित सहनीटोल घाट र रौतहटको गढिमाई नगरपालिका र बृन्दावन नगरपालिका क्षेत्रमा पर्ने हरैया घाटमा अनियन्त्रित उत्खनन भइरहेको बारे स्थानीय वासिन्दाले समेत बारम्बार आवाज उठाउँदै आएका छन्।विवादित क्षेत्रमा तत्काल उत्खनन नगर्ने र आगामी शनिबार दुबै जिल्लाको सीमा छुट्याउन प्राविधिकसहित रेखाङ्कनको काम गर्ने सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।बरहथवा नगरपालिकामा भएको छलफलमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कडरिया, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल,बरहथवा नगरपालिकाकी नगर प्रमुख कटुवाल,गढिमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव र बृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी सहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।सर्लाहीतर्फबाट ठेक्का लाग्दै नलाग्ने र रौतहटतर्फबाट बर्सेनि बलमिच्याँई किसिमले नदीजन्य पदार्थको उत्खनन हुने गरेको बरहथवा नगरपालिकाकी नगर प्रमुख कटुवालले बताइन् ।
आफूहरुले बारम्बार भन्दा पनि सुनुवाई नै नगरेर सर्लाहीतर्फ बाँधकै छेउमा समेत आएर जथाभावी उत्खनन गरिएको उनको आरोप छ।छलफलले प्राविधिक टोलीसहित शनिबार स्थलगत निरीक्षण गरेर सीमा छुट्याएपछि आ–आफ्नो पालिकाको क्षेत्रभित्र पर्ने खोलाको ठेक्का लगाउने र अन्य पालिकाको क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति भएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कटुवालले बताईन् ।
सरोकारवाला निकायको मौनताका कारण बागमती सहित सर्लाहीका अन्य खोलाहरुमा समेत मापदण्ड अनुसार उत्खनन भए÷नभएकोबारे नियमित अनुगमन र निगमन नहुँदा मनपरी नदीजन्य पदार्थको दोहन भइरहेको स्थानीयले गुनासो छ।सर्लाहीका खोलाहरुमा भई रहेको मापदण्ड विपरितको उत्खननका सवालमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कडरियालाई कमलामाई मिडिया प्रा.लिले जिज्ञासा राख्दा उनले पत्रकारहरुले बुझ्दै नबुझि खोलाहरुको ठेक्का लगाउने तथा नियमन गर्ने सवालमा जिल्ला प्रशासन कार्यालयको कुनै भूमिका नहुने र सबै अधिकार सम्बन्धीत पालिकाहरुको रहने भन्दै गैर जिम्मेवार जवाफ दिएका थिए ।बरहथवा नगरपालिकाले पटक पटक पत्राचार गर्दापनि वेवास्था गरेका प्रमुख जिल्ला अधिकारी कडरिया केही दिन पहिला उनी आफैँ सुरक्षा दलवल लिएर बागमती नदीमा भएको अन्धाधुन्द उत्खनन हेर्न पुगेका थिए ।