उखु किसानहरुको अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र कृषि मन्त्री रामनाथ अधिकारीलाई सर्लाहीका राजनीतिक दलहरुले ध्यानाकर्षण गराएका छन् ।नेपाली कांग्रेस सर्लाही र नेकपा(एमाले) सर्लाहीले प्रधानमन्त्री ओली र कृषि मन्त्री अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि सरकारले बजेट प्रस्तुत गर्दा उखु किसानहरुका लागि अनुदान रकम प्रदान गर्ने भनी उल्लेख नगरेको साथै अनुदान रकम कटौति गरेपछि देशभरका उखु किसान असन्तुष्ट देखिएका छन् ।
सरकारले अनुदान नदिने भएपछि सर्लाहीका उखु किसानहरुले पत्रकार सम्मेलन गरी कडा आन्दोलनमा उत्रने चेतावनी दिइसकेका छन्।किसानहरुसँगको छलफल पछि एमालेका सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य एवम निवर्तमान रक्षामन्त्री हरिप्रसाद उप्रेती र बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालका साथै नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह सहितको टोलीले प्रधानमन्त्री ओली रकृषि मन्त्री अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।
उखुमा अनुदान नदिँदा किसानहरुले विकल्पमा अन्य खेती गर्दा तराईका १३ वटा चिनी उद्योग बन्द हुने र ति उद्योगबाट राज्यलाई वर्षेनि प्राप्त हुने करिब दुई अर्ब कर गुम्ने साथै सो उद्योगहरुमा कार्यरत मजदुरहरुको विचल्ली हुने खतरा रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।एमालेको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले समर्थन मुल्य निर्धारण भएपछि अनुदान दिइरहनु नपर्ने र अनुदान दिन सरकारसँग पैसा समेत नरहेको प्रतिक्रिया दिएका छन्।किसानलाई उखुको अनुदान रकम दिलाउन सांसद र उखु किसानका अगुवाले निरन्तर अर्थ र कृषि मन्त्रालयमा दबाब दिइरहेका छन् ।
कांग्रेस सर्लाहीले उखु किसानहरुलाई दिइँदै आएको अनुदानलाई निःशर्त निरन्तरता दिन माग गर्दै कृषि मन्त्री अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएपछि मन्त्री अधिकारीले गत वर्षको अनुदान रकम रु एक अर्ब ३९ करोडमध्ये एक हप्ताभित्र रु ८० करोड रकम किसानहरुको खाता पुग्ने र बाँकी रकम पनि जतिसक्दो चाँडो निकासा गर्ने प्रतिवद्धता व्यक्त गरेका नेपाली कांग्रेस सर्लाहीका सभापति सिंहले बताए ।
यो वर्षदेखि बजेट नै बिनियोजन नभएकाले अब उखुको अनुदान रकम पाउने आश नै मरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले दुःखेसो पोखे ।उनकाअनुसार चिनीमा आत्मनिर्भर हुने भनिरहेको सरकारले अनुदान रकम कटौति गरेर उखु खेती नै मास्ने खतरा सिर्जना गराएको छ।अनुदान रकमको आशमा उखु खेती गर्दै आइरहेका किसान सरकारको निर्णयबाट हतोत्साहित बनेका उखु उत्पादक किसानहरु अगुवाहरुले बताएका छन् ।