Close This

परियोजनाले बागमती क्षेत्रका ८० घर टहरा हटायो

रासस    प्रकाशित: २०७७-४-११ गते   ३३२ पटक हेरिएको

 सागरनाथ वन बिकास परियोजनाले आफ्नो जग्गामा अवैध रुपमा बनाइएका ८० घर टहरा हटाएको छ । परियोजनाको स्वामित्वमा रहेको जिल्लाकोे बागमती नगरपालिका–५ टेकानीस्थित सुकुम्बासीको नाममा हुकुम्वासीले जग्गा हडप्ने नियतले बनाइएका नयाँ घरटहरा आईतबार भत्काएको हो । परियोजनाको जमिनमा छर पस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाइ बागमती नगरपालिका ४ जिरायत र वडा नं. ५ टेकानीमा एकत्रित बस्ती बनाएर राख्ने सहमति भएको थियो ।
परियोजनाको सहमतीमा बागमती नगरपालिकाले नगरभित्र जग्गा नभएका सुकुम्वासी परिवारलाइ १८ धुरको दरले घडेरी बितरण गरेको थियो । सो क्षेत्रमा हाल ३ सय सुकुम्वासी परिवारले घर बनाएर बसोवास गर्दै आएका छन् । परियोजनाले उक्त क्षेत्रको खाली जमिनमा गत बर्ष साउनमा बनाइएको घर छाडेर तारवार गरी मसला, टिक र अमलाको बिरुवा रापेको सागरनाथ वन विकास परियोजनाका प्रमुख जितेन्द्र कर्माचार्यले जानकारी दिनु भयो ।
व्यवस्थित रुपमा राखेपछि पनि विरुवा रोपेको जमिनमा समेत केही दिन यता स्थानियले आफूखुशी वनको जमिन अतिक्रमण गरि घर बनाउने र बालीनाली लगाउने गरिरहेका थिए । यसरी वनको जग्गा ब्यापक रुपमा अतिक्रमणमा परेपछि आफ्नो स्वामित्वमा रहेको जमिन कब्जामा लिइ घरटहरा भत्काउनु परेको प्रमुख कर्माचार्यले बताउनु भयो ।
जनप्रतिनिधिको मिलेमतोमा रातारात अन्यत्र घरजग्गा भएकाहरुले जग्गा ओगट्ने नियतले घरटहरा बनाउने तर बसोवास नगरेको भन्ने सूचनाको आधारमा भर्खरै बनेका घरटहरा भत्काइ जमिन खाली गरिएको परियोजनाले जनाएको छ । उक्त खाली गरिएको जमिनमा चाँडै बृक्षारोपण गरिने परियोजना प्रमुख कर्मचार्यले बताउनु भयो । तर आफ्नो स्वार्थ पुरा गर्न केही राजनितिक दलका नेता कार्यकर्ताले पटक पटक बस्ति बसाउने बहानामा आफुखुशी जग्गा बितरण गरि घरटहरा बनाउन लगाएको स्थानियहरु बताएका छन ।
यसरी जग्गा बितरण गर्दा जनप्रतिनिधिले आफ्नो नातेदार छान्नुका साथै कतिपयसँग पैसा लिएर जग्गा दिने गरेको बागमती नगरपालिका ५ का एक स्थानियले गुनासो गरेका छन । बागमती नगरपालिका–५, का वडाध्यक्ष कृष्णबहादुर वाईवाले सुकुम्वासीलाइ जग्गा बितरण गर्ने क्रममा आर्थिक चलखेल नभएको र वास्तविक सुकुम्बासी पहिचान गरि प्रत्येक घरपरिवारलाइ १८ धुर जग्गा बितरण गरिएको दावी गरेका छन । 
सर्लाही, रौतहट र महोत्तरी गरी तीन जिल्लामा फैलिएको सागरनाथ वन विकास परियोजनाको १३ हजार ५ सय १२ हेक्टर क्षेत्रफल रहेको छ । जसको खाली जमिनमा सर्लाही, रौतहट,सिन्धुली र महोत्तरीमा घर भएका मानिसहरु सो क्षेत्रमा सुकुम्बासी भन्दै जग्गा लिएर घर टहरा वनाएर बसेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech