एमालेको ११ औँ महाधिवेशनका लागि सर्लाहीबाट भ्रष्टाचारमा लिप्त पन्त सर्वसम्मत

226 Shares

नेकपा(एमाले)को ११ औँ केन्द्रीय महाधिवेशनका लागि हरेक जिल्लाबाट प्रतिनिधि छनोटको क्रममा सर्लाहीबाट २२ जना प्रतिनिधि छनोट गर्दा भ्रष्टाचारमा लिप्त रहेका मानिस पनि सर्वसम्मत चयन भएका छन् ।लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा निर्माणाधिन अवस्थामा रहेको तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान हालको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतले दोषी ठहर गरेका प्रतिष्ठानका तत्कालीन अध्यक्ष एवम एमाले मधेश प्रदेशका उपाअध्यक्ष रेवती रमण पन्त पनि महाधिवेशनका लागि सर्वसम्मत छनोट भएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट खुला तर्फबाट प्रतिनिधि बन्न सफल भएका पन्त विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्।२०८१ असारमा विशेष अदालतले सर्लाहीको प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा प्रतिष्ठानका तत्कालीन अध्यक्ष पन्त सहित पाँच जनालाई दोषी ठहर गरेको थियो ।प्रतिष्ठानको नाममा सरकारबाट रु १७ करोड ९८ लाख ३३ हजार खर्च भइसक्दा समेत कामको प्रगति शून्य देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
अख्तियारले २०८० असोज २१ गते मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव सहित सर्लाहीको लालबन्दी नगरपालिकाका निवर्तमान नगर प्रमुख मान बहादुर खड्का सहिका विरुद्ध पनि मुद्दा दायर गरेको थियो ।
प्रतिष्ठानको उद्देश्य लालबन्दी नगरपालिकासँगको सहकार्यमा विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टी स्नेक भेनम उत्पादन गर्ने तथा अनुसन्धान केन्द्र सञ्चालन गर्नु भएपनि प्रतिष्ठानका तत्कालीन अध्यक्ष पन्त सहितले प्रतिष्ठानलाई भ्रष्टाचारको अखडा बनाएका पाइएपछि विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
विशेष अदालतले प्रतिष्ठानका तत्कालीन अध्यक्ष पन्तलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र रु दुई करोड ३५ लाख २९ हजार तीन सय ६८ असुल गर्न आदेश दिएको थियो।प्रतिष्ठानका तत्कालीन अध्यक्ष पन्त २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर १ र ३ दुवै ठाउँबाट टिकटका लागि सिफारिस भए पनि कतैबाट पनि अवसर पाएनन् ।
जनताबाट अहिलेसम्म निर्वाचित हुन नसके पनि उनी कार्यकर्ताहरुलाई पार्टीमा टिकाइ राख्न सक्ने क्षमता भएका एमालेका नेताको रूपमा छन्।यता,सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट खुला,महिला,युवा र दलिततर्फ गरी २२ जना  प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। 

सम्बन्धित समाचार