सर्लाहीको धनकौल गाउँपालिकामा सेनेटरी प्याड खरिदमा भ्रष्ट्राचार भएको रहस्य सार्वजनिक भएको छ ।धनकौल गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको मिलेमतोमा सेनेटरी प्याड खरिदमा रु पाँच लाख भन्दा बढी रकम भ्रष्टाचार भएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।
महालेखाको प्रतिवेदन अनुसार धनकौल गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारीको समयमा प्रयोग गर्न वितरण गर्ने उद्देश्यले खरिद गरिएको सेनेटरी प्याडमा जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०८१/०८२ मा ११ हजार एक सय ७० प्याक सेनेटरी प्याड खरिद गर्दा प्याडको अधिकतम खुद्रा बजार मूल्य प्रति प्याक रु ४५ रहेकोमा पालिकाले थोकमै प्रति प्याक ७३ रुपैयाँ ३२ पैसाको दरले खरिद गरेको देखिएपछि आर्थिक अनियमितता भएको रहस्य बाहिरिएको हो ।
सोही अनुसार धनकौल गाउँपालिकाले कुल रु आठ लाख १८ हजार नौ सय ८४ तिरेको छ। यथार्थ बजार मूल्य अनुसार खरिद गरिएको भए रु पाँच लाख दुई हजार छ सय ५० मै सेनेटरी प्याड खरिद गर्न समिने भएपनि गाउँपालिकाले रु तीन लाख पाँच हजार एक सय ६५ अनावश्यक रुपमा बढी तिरेको तथ्य फेला परेको महालेखाको प्रतिवेदनले जनाएको छ ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रचलित बजार मूल्यभन्दा धेरै मूल्य तिरेर खरिद गरिएको उल्लेख गर्दै यसलाई स्पष्ट अनियमितता ठहर गरेको छ।स्थानीय सरकारको शिक्षा शाखाले सेनेटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन र मूल्य प्रतिस्पर्धाको सिद्धान्तको समेत उल्लंघन गरेको महालेखाले जनाएको छ।