मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट आचरण विपरीत क्रियाकलाप बढ्न थालेपछि पाइएको छ।पछिल्लो समय मधेश प्रदेशका आठै जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु आचरण विपरीतका गतिबिधिमा संग्लग्न हुँदै गएपछि कारबाहीको संख्या पनि बढेको छ ।
गएको दुई आर्थिक वर्षको तथ्यांकलाई आधार मान्दा मधेस प्रदेशका जिल्लाहरुका विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु विरुद्धको कारबाही बर्षेनी बढ्दो छ।दुई आर्थिक बर्षमा मात्रै मधेश प्रदेशका जिल्लाहरुबाट छ सय नौ जना प्रहरी कर्मचारीहरु कारबाहीमा परेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांकमा उल्लेख छ ।प्रहरीको आचरण नसुध्रिदा कारबाहीको संख्या मात्रै बढेको नभई निलम्बन फुकुवा भएका प्रहरीलाई प्रमुखको जिम्मेवारी दिँदा अनुशासन हीनता मौलाउँदै गएको छ भने प्रहरी संगठन प्रतिको जनविश्वास प्रभावित हुने पुर्व प्रहरी कर्मचारीहरु बताउँछन् ।
आर्थिक बर्ष ०८१÷०८२ मा मात्रै मधेस प्रदेशमा तीन सय २२ जना प्रहरी कर्मचारीहरु कारबाहीमा परेका छन्।जसमध्ये जिल्ला प्रहरी कार्यालय धनुषामा मात्रै कार्यरत ५४ जना, जिल्ला प्रहरी कार्याँलय सप्तरीमा ३७ जना,मधेस प्रदेश प्रहरी गणमा ३६ जना,जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ३४ जना,जिल्ला प्रहरी कार्यालय सिराहामा ३१ जना,जिल्ला प्रहरी कार्यालय रौतहटमा २९ जना,जिल्ला प्रहरी कार्यालय बारामा २६ जना,जिल्ला प्रहरी कार्यालय महोत्तरी २६ जना र जिल्ला प्रहरी कार्यालय पर्सामा सबै भन्दा कम १४ जना प्रहरी कर्मचारीहरु कारबाहीमा परेका छन्।तर,कारबाहीमा परेका प्रहरी अधिकारीहरुलाई प्रमुखको जिम्मेवारी दिँदा उनीहरूको नियतमाथि प्रश्न उठेको साथै उनीहरु पहिलाको आफ्नो हर्कत मै उत्रिने गरेका प्रहरी अधिकारीहरु नै बताउँछन् ।
निलम्बन फुकुवा भएपछि सर्लाहीको ईलाका प्रहरी कार्यालय हिरापुरको जिम्मेवारी पाएका प्रहरी नायब निरिक्षक वैद्यनाथ दास र प्रहरी चौकी ब्रम्हपुरीका प्रमुख प्रहरी सहायक निरिक्षक मनोज यादवले व्यवसायीलाई भन्सार छलीमा सहयोग पुर्याएका अडियोहरु नै सार्वजनिक भएका छन् ।
ती दुवै प्रहरी अधिकारीहरु यसअघि पनि निलम्बनमा परिसेका प्रहरी कर्मचारीहरु हुन्।पर्सामा कार्यरत रहँदा २०७७ मंसिर ५ गते व्यवसायीसंग घुस लिएको आरोपमा प्रहरी नायब निरिक्षक दास र जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी उपरिक्षक प्रविण धितालको समयमा ईलाका प्रहरी संग्रामपुरको प्रमुख हुदा प्रहरी सहायक निरीक्षक यादव निलम्बनमा परेका थिए । फूलको कारोबार गर्ने व्यापारीसँग घुस मागेको आरोपमा प्रहरी सहायक निरीक्षक यादव निलम्बनमा परेका थिए ।
२०८१ चैत्र २४ गते ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक किसोर तामाङ नेतृत्वको प्रहरी टोलिले ना २४ प ६९०३ नम्बरको मोटरसाइकल चलाईरहेका हरिवन नगरपालिका ३ डाबरी टोलका ३६ बर्षीय मानबहादुर घिसिंङको साथबाट सात सय पिस कोरेक्स,ओनरेक्स र विनेक्रक्स प्रतिबन्धित लागू औषध सहित नियन्त्रणमा लिएपनि उनले अदालतमा बुझाएको अभियोग पत्रमा चार सय ५८ बोतल मात्र देखाएपछि उनको आचरणमा प्रश्न उठेको हो।मातहत प्रहरी कार्यालय प्रमुखले व्यवसायीसंग उठाएको रकम जिल्ला प्रमुखसँग पुग्ने गरेपनि कारबाही भने उनीहरु मात्र हुने गरेका छन् ।