रौतहटको दुर्गा भगवती गाउँपालिका ४ का वडा अध्यक्षको दोहोरो नागरिकता रहेको रहस्य बाहिरिएको छ।दुर्गा भगवती गाउँपालिका ४ का वडा अध्यक्ष रामानन्द प्रसाद यादवको नेपाल र भारतमा गरी दुवै देशमा नागरिकता रहेको रहस्य बाहिरिएको हो ।रौतहटको साविक पचरुखी ३ हालको दुर्गा भगवती गाउँपालिका ४ स्थायी ठेगाना भएको नागरिकता नम्बर ३३० र भारतको चिरैया अञ्चल जिल्ला पुर्वी चम्पारण परेवा सहर परेई गाउँ भई वाईडब्लुएक ०११५०३१ भएको नागरिकता नम्बरका पप्पु प्रसाद यादवको नाममा गरी वडा अध्यक्ष रामानन्द यादवको दोहोरो नागरिकता रहेको पाइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले गृह मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय रौतहटमा सो सम्बन्धमा आवश्यक छानविन गर्न भन्दै पत्राचार गरेपछि वडा अध्यक्ष यादवको नेपाल र भारतमा पनि नागरिकता रहेको रहस्य बाहिरिएको हो ।नेपाली नागरिकतामा रामचन्द्र कापड यादव र भारतमा सिताराम प्रसाद यादवका छोरा भनी उनको नागरिकतामा लेखिएको छ भने नेपालमा रामानन्द प्रसाद यादव र भारतमा पप्पु प्रसाद यादवको नाममा उनले नागरिकता लिएका पाइएको हो ।वडा अध्यक्ष यादवसंग भारतको मतदाता परिचय पत्र र नेपाली मतदाता परिचय पत्र समेत रहेको छ।द्धन्द्धकालमा तत्कालीन नेकपा(माओवादी)को कार्यकर्ता बनेर अपहरण तथा शरिर बन्धक गर्ने कार्यमा समेत संग्लग्न रहेका यादवले पछि सफाई पाएका भएपनि २०८१ को दशैँताका ईलाका प्रहरी कार्यालय गंगापिपराका प्रमुख प्रहरी सहायक निरीक्षक रामदेव चौधरीमाथि ईलाका प्रहरी कार्यालय भित्रै प्रवेश गरी कुटपिट तथा प्रहरी सहायक निरीक्षक चौधरीको बर्दी समेत च्यातेका अध्यक्ष यादवले राजनीतिक शक्तिको आडमा उन्मुक्ती पाउँदै आएका समेत स्रोतको दाबी छ ।भारतको निर्वाचन आयोगमा ८४५४१८ दर्ता नम्बर लेखिएको छ भने नेपाली मतदाता परिचय पत्रमा ०७३३९४७५ दर्ता नम्बर रहेको समेत कमलामाई मिडिया प्रा.लिलाई प्रमाण प्राप्त भएको छ ।
यता,सो सम्बन्धमा दुर्गा भगवती गाउँपालिका ४ का वडा अध्यक्ष यादवलाई बुझ्दा उनले,आफुमाथि विपक्षीहरुले झुटो आरोप लगाएर बद्नाम गर्न खोजेका बताए।उनले आफुले पप्पु प्रसाद यादव नचिन्ने र आफु नेपाली नागरिक रहेको र नेपाली नागरिकता मात्रै रहेको दाबी गरे।तर उनले अख्तियारले गृह मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय रौतहटमा केही दिन पहिला पत्राचार भएको र आफुले बयान दिएर आएको स्वीकार गरे ।उनले कुनै पनि प्रक्रिया वा प्रविधिबाट चेकजाँच गर्दापनि मेरो दोहोरो नागरिकता रहेको प्रमाणित भएमा आफु कूनैपनि सजाय भोग्न तयार रहेको समेत बताए ।भने दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद सिंहले दुर्गा भगवती गाउँपालिका ४ वडा अध्यक्ष यादवको दोहोरो नागरिकताको सवालमा आफुलाई कुनै जानकारी नभएको बताए।
त्यस्तै,अख्तियारले गृह मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय रौतहटमा केही दिन पहिला पत्राचार भएको र सोही अनुसार दुर्गा भगवती गाउँपालिका ४ वडा अध्यक्ष यादवलाई बोलाउँदा नआएपछि प्रहरी लगाएर ल्याई बयान लिने काम भएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रवक्ता एवम सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले बताए । “अख्तियारले गृह मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय रौतहटलाई दुर्गा भगवती गाउँपालिका ४ वडा अध्यक्ष यादवको दोहोरो नागरिकताको सवालमा छानविन गर्न भन्दै केही दिन पहिला पत्राचार गरेको र सोही अनुसार वडा अध्यक्ष यादवको वयान लिने काम भएको छ ।उनको दोहोरो नागरिकता तथा मतदाता परिचय पत्रको सवालमा विभिन्न किसिमका प्रक्रियाहरु अपनाई छानविन सुरु भएको छ।छानविनबाट जे निष्कर्ष आउँछ उक्त निष्कर्षलाई गृह मन्त्रालयमा पठाईने छ।”जिल्ला प्रशासन कार्यालय रौतहटका प्रवक्ता एवम सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
उनले २०६२÷०६३ सालमा टोली परिचालन गरी नागरिकता बनाउँदा करिब साँढे तीन सय नागरिकताहरु माथि छानविन गर्न भन्दै अख्तियारमा उजुरी परेको र छानविनका लागि जिल्ला प्रशासन कार्यालय रौतहटलाई परिपत्र भए अनुसार छानविन गरी गृह मन्त्रालयमा प्रतिवेदन पठाईएको समेत बताए ।२०६२÷०६३ सालमा गाउँ गाउँमा नागकिरता टोली परिचालन गर्दा धेरै गैर नेपालीहरुले समेत नागरिकता बनाएका भन्दै समय समयमा सांसद तथा सरोकारवाला निकायहरुमा आवाजहरु उठ्ने गरेका छन् ।