कृषि सामाग्री कम्पनी लिमिटेड,नवलपुर सर्लाहीले आर्थिक वर्ष २०८१/०८२ मा ३८ करोड ३६ लाख २३ हजार छ सय २९ रुपैयाँ ५० पैसाको रासायनिक मल बिक्री गरेको छ।कृषि सामाग्री कम्पनी लिमिटेड,नवलपुर सर्लाहीले युरिया,डिएपी र पोटास गरी तीन प्रकारका १३ हजार तीन सय ३६ मेट्रीक टन रासायनिक मल विक्रि वितरण गर्दा ३८ करोड ३६ लाख २३ हजार छ सय २९ रुपैयाँ ५० पैसा संकलन गरेको कार्यालय प्रमुख ध्रुव साहले जानकारी दिए ।
उनका अनुसार हालसम्म युरिया सात हजार चार सय सात मेट्रिक टनको १२ करोड ३४ लाख पाँच हजार एक सय सात रुपैयाँ ५० पैसा,डिएपी पाँच हजार चार सय ९२ मेट्रिक टनको रु २५ करोड ७३ हजार पाँच सय २५ र पोटास चार सय ३७ मेट्रिक टनको रु एक करोड ३२ लाख चार हजार नौ सय ९७ गरी आर्थिक वर्ष २०८१/०८२ मा कुल ३८ करोड ३६ लाख २३ हजार छ सय २९ रुपैयाँ ५० पैसाको रासायनिक मल बिक्री गरिएको हो ।
वर्षभरिमा कार्यालयले पाँच हजार एक सय मेट्रिक टन डिएपी,सात हजार आठ सय मेट्रिक टन युरिया र चार सय ३७ मेट्रिक टन पोटाँस प्राप्त गरेकोमा गतवर्षको मौज्दात तीन सय ९२ मेट्रिक टन डिएपी समेत गरी कुल १३ हजार तीन सय ३७ मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरेको प्रमुख साहले जानकारी दिए ।
कार्यालयका अनुसार युरिया प्रति बोरा आठ सय २६ रुपैयाँ ५० पैसा,डिएपी दुई हजार दुई सय ७६ रुपैयाँ ५० पैसा र पोटास एक हजार छ सय ७६ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको कार्यालय प्रमुख साहले बताए।कार्यालयले जिल्लाका २० वटा पालिकाका दुई सय ११ वटा डिलर मार्फत मल वितरण गर्दै आएको छ।मलखाद्य वितरण मलखाद्य निर्देशिका,२०७७ अनुसार स्थानीय तहमा गठित“मलखाद्य वितरण व्यवस्थापन समिति”मार्फत नियमन भइरहेको छ ।
समितिमा उपमेयर वा उपाध्यक्ष संयोजक रहने व्यवस्था छ भने प्रशासकीय अधिकृत,कृषि शाखा प्रमुख सदस्य र कृषि प्राविधिक सचिव रहने प्रावधान छ।यस समितिले मलको मूल्य दर निर्धारण,बिक्री व्यवस्थापन र कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी पाएको छ।प्रमुख साहका अनुसार मल वितरण सम्बन्धी कोटा प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले सम्बन्धित पालिकाको सिफारिस अनुसार निर्धारण गर्ने गरेको छ ।
जिल्लामा डिएपी २० हजार मेट्रिक टन र युरिया ३० हजार मेट्रिक टन मलको माग भएपनि माग अनुसार मल प्राप्त नहुँदा समस्या भएको कार्यालयले जनाएको छ।उक्त मल धान,गहुँ,मकै,उखुका साथै माछा पोखरीहरु लगायतका अन्नबाली र तेलहन बालीका लागि वितरण भइरहेको कार्यालयले जनाएको छ ।