बलात्कार आरोपमा पक्राउ परेका पूर्व प्रदेश प्रमुख झा जेल चलान

344 Shares

मधेस प्रदेश सरकारका पूर्व प्रदेश प्रमुख राजेश झा(अहिराज) बलात्कारको आरोपमा जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको इजलासले पूर्व प्रदेश प्रमुख झालाई थुनामा पठाउन आदेश दिएका हुन् ।
बलात्कार मुद्दामा अनुसन्धान गर्न प्रहरीले साउन ४ गते आईतबार पूर्व प्रदेश प्रमुख झालाई पक्राउ गरेको थियो।अन्दाजी २३ वर्षीया युवतीले आफूलाई पूर्व प्रदेश प्रमुख झाले बानेश्वरस्थित डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार गरेको जाहेरी दिएकी थिइन्।त्यसपछि पक्राउ परेका पूर्व प्रदेश प्रमुख झालाई साउन १४ गते १० औँ दिनमा मंगलबार मुद्दाको अनुसन्धान तथा अभियोजन सकेर अदालतमा दायर गरिएको थियो । बुधबार थुनछेक बहसपछि न्यायाधीश शर्माले पूर्व प्रदेश प्रमुख झालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएका हुन् ।
२०८१ जेठ ४ गते डेरामा आएर पूर्व प्रदेश प्रमुख झाले बलात्कार गरेको पीडित युवतीले उजुरीमा दाबी गरेकी थिइन्। पूर्व प्रदेश प्रमुख झालाई पीडितले १७ वर्षको उमेरमा विराटनगरमा चिनेको बताएकी छिन् । बलात्कार गरेपछि पूर्व प्रदेश प्रमुख झाले विभिन्न किसिमका धम्की दिएको पीडितको भनाइ छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले मधेश प्रदेशका तत्कालीन प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो । कार्यकालको करिब छ महिना नपुग्दै झालाई नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।

सम्बन्धित समाचार