नेकपा (माओवादी केन्द्र)का नेता तथा सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)को सवालमा सिन्धुलीमा फेरी चर्चा सुरु भएको छ।तत्कालीन नेकपा(माओवादी)को नेतृत्वमा भएको जनयुद्धका शहीद स्व.महेन्द्र श्रेष्ठका छोरा महेश श्रेष्ठ(कृतिक)ले आफ्नो सामाजिक सञ्जालबाट“२०५५ साल असार २० गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेपछि २०६३ साल सम्म आफू कहाँ थिए भनेर याद गर्नु पर्दैन ? त्यसै जनार्दन शर्मासंग भिड्न खोजेर हुन्छ ?त्यस्तो हैसियत पनि छ र ?”लेखेपछि सिन्धुली फेरी प्रतिनिधि सभा सदस्य दाहालको सवालमा सिन्धुलीमा फेरी चर्चा सुरु भएको हो ।

“दाहालले जनयुद्धको कठिन कालखण्डमा “आत्मसमर्पण” गरेको इतिहास सम्झाउँदै,उनी आज जनयुद्धको गौरव बोकेर पार्टी नेतृत्वमा अगाडि सर्ने नैतिकता राख्दैनन्”भन्ने तर्क श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।प्रतिनिधि सभा सदस्य दाहालले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)लाई लक्षित गर्दै टिप्पणी गरेपछी उनको विपक्षमा रहेका माओवादी केन्द्रका कार्यर्ताहरुले उनको नकारात्मक टिप्पणी गरेका छन् भने दाहाल निकटका कार्यकर्ताहरुले दाहालको राजनीतिक इतिहाँस सम्झाएका छन् ।

दाहाल निकटका चिरन्जीवि दाहालले“राजन दाहालल सिन्धुलीगढी प्रहरी चौकी कव्जासंग सम्बन्धी मुद्दा मध्ये हातहतियार खरखजाना मुद्दामा २ वर्ष र छ हजार जरिवाना फैसला भइसकेको र पुनरावेदन म्याद पनि सकिएको अवस्थामा २०५३ माघ २ गते गिरफ्तार गरी माघ १३ गते कैदी पूर्जी थमाएर सिन्धुली कारागार पठाएको विषय सत्य हो।पछि सेन्टर जेल हुँदै वीरगञ्ज जेलमा कैद भुक्तानी गरेर रु छ हजार जरिवाना तिरेपछि कानून सम्मत छुट पूर्जी लिएर उनको बुबा लिलानाथ दाहाल २०५५ चैत २७ गते वीरगञ्ज कारागार गएपछि छुटेको विषयलाई शहिद परिवारसँग अनैतिक सम्बन्ध कायम गरेर पार्टीले कार्वाही गरी निकालेका पात्रको भ्रामक फेसवुक स्टाटस प्रति गम्भीर आपत्ती छ।कोही भ्रममा नपर्न अनुरोध छ।”आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
दाहालले भूमिगत संघर्षको निर्णायक घडीमा आन्दोलनबाट टाढा हट्दै आत्मसमर्पणको बाटो रोजेका शहिद परिवारका श्रेष्ठको आरोप छ ।त्यही आन्दोलनको साख र योगदानलाई आधार बनाएर नेतृत्वको दाबी गर्नु नैतिक रूपमा गलत होे।“के २०५५ सालमा आत्मसमर्पण गरेका दाहाल आज जनयुद्धको त्याग र समर्पणका साक्षी बन्न सक्छन ?”यो प्रश्न शहिद परिवारको तर्फबाट सामाजिक विमर्शको केन्द्रमा आएको छ ।
स्व.श्रेष्ठ माओवादी जनयुद्धको शुरुवाती चरणमा सैन्य र राजनीतिक नेतृत्वमा रहेर योगदान दिएका एक प्रमुख नेता थिए ।भारतबाट प्रशिक्षण लिएर फर्किएका श्रेष्ठले आफ्नो नेतृत्वमा आफ्ना सहोदार दाजु दीर्घराज श्रेष्ठ,गंगा श्रेष्ठ,कल्पना सुवेदी र ध्रुुव देवकोटा लगायतका दर्जनौँ युवालाई युद्धमा ल्याएका थिए।शहिद श्रेष्ठलाई तत्कालिन शाही नेपाली सेनाले २०५५ साउनमा विरामी भएर सुतिरहेको अवस्थामा ओखलढुङ्गावाट गिरफ्तार गरी असोज ४ गते उदयपुरको खोक्सामा हत्या गरेका थिए ।
यस्तै अर्का शहिद दिलकाजी कार्कीका छोरा प्रतीक कार्कीले पनि राजन दाहालको भनाईलाई खण्डन गर्दै फेसबुक मार्फत कडा टिप्पणी गरेका छन् ।“एउटा तप्का माओवादी पार्टीको नेतृत्व पुष्प कमल दाहाल(प्रचण्ड)ले मात्र गर्न सक्ने बताई रहेका छन् । यो पार्टी हजारौँ योद्धा र इमानदार जनताको सामूहिक प्रयासले बनेको हो ।”उनले अगाडी लेखे“उनले नेतृत्व गरि रहनु कार्यकर्ताको विश्वासको कारण हो,कुनै अद्भुत क्षमता भएर हैन।अब नेतृत्वमा सबै कार्यकर्तालाई समान अवसर दिनुपर्छ। माओवादी युद्ध सरदारहरूको पार्टी हैन,यो मुक्ति योद्धाहरूको पार्टी हो ।”उनले फेसबुकमा लेखेका छन् ।
२०५९ असारमा शाही सेनाको कारबाहीमा खोटाङमा दलकाजी कार्की मारिए ।आफ्नो बाबुको बलिदान सम्झँदै प्रतीकले पार्टीभित्रको नेतृत्व चयन प्रक्रियामा इमानदारी,पारदर्शिता र ऐतिहासिक योगदानको मूल्यांकन हुनुपर्ने माग गरेका छन् ।
यो बहस केवल एक नेताको आलोचना वा बचाउको विषय नभई माओवादी केन्द्र भित्र अहिले सर्वत्र चर्चाको विषय बनेको छ । यो माओवादी आन्दोलनको इतिहास,योगदानको मान्यता र आजको नेतृत्व संस्कृति माथिको गहिरो बहस हो । अब प्रश्न उभिएको छ, “इतिहास बिर्सेर नेतृत्वको दाबी गर्न पाइन्छ ?”र “पार्टी एक व्यक्तिको वरिपरि मात्र घुम्ने कि साझा योगदानको मूल्यांकन गर्ने ?यस बहसले माओवादी केन्द्र भित्र नेतृत्व चयन,मूल्यांकन र वैचारिक अनुशासनबारे गहिरो विमर्श थाल्न आवश्यक रहेको माओवादी केन्द्रका नेताहरुको सुझाब छ ।