सर्लाहीको बरहथवा नगरपालिका १२,पुरैनिया स्थित नयाँरोड–मधुवनी हुलाकी सडकखण्ड अन्तर्गत मनुष्मारा खोलामा निर्माण गरिएको पुल संचालनमा नआउँदा पुरानै (जिर्ण) पुलबाट जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको छ ।
सडक विभागको रु चार करोड ८८ लाखको लागतमा सगुन निर्माण सेवा महेन्द्रनगरले २०७९ सालमा नै निर्माण सम्पन्न गरेको बरहथवा नगरपालिका १२,पुरैनिया स्थित नयाँरोड–मधुवनी हुलाकी सडकखण्ड अन्तर्गत मनुषमारा खोलामा निर्माण गरिएको पुल हालसम्मपनि संचालनमा आएको छैन।पुलको उत्तरपट्टी पर्ने १७ धुर जग्गा स्थानीय सत्यनारायण यादवको निजी रहेकोले नेपाल सरकारले उनलाई जग्गाको मुआब्जा नतिर्दा उनले पुल संचालन गर्नमा अवरोध गरेका आयोजनाका इन्जिनियर रंजित कुमार रायले जानकारी दिए ।
उनका अनुसार आफुले जग्गाको मुआब्जाको सम्पुर्ण कागजात सम्बन्धीत मन्त्रालयमा पठाइसकेको भएपनि त्यहाँ कुनै सुनुवाइ भएको छैन् ।पुल सञ्चालनका लागि स्थानीय सरकार र सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई पनि सहजीकरण गरिदिन अनुरोध समेत गरिएको इन्जिनियर रायले बताए ।सबैले आश्वासन दिएपनि हालसम्म कुनै किसिमको पहल नहुँदा संगै रहेको पुरानो जिर्ण पुलबाट जोखिम मोलेरै सवारी साधनहरु आवत जावत गरि रहेका छन् ।
पुल निर्माणको सबै काम पूरा भइसकेको र पुलको दुबैपट्टी ग्राभेल गरेर पिच गर्न मात्रै बाँकी रहेको भएपनि निजी जग्गा वाला सत्य नारायण यादवले अवरोध गरिदिएपछि पुल संचालनमा आउन नसकेको इन्जिनियर रायले बताए ।पुल निर्माण गर्ने कम्पनी अथवा सम्बन्धीत व्यक्ति यहाँ आएपछि आफुले पुल संचालन गर्नमा सहजीकरण गरिदिने बरहथवा नगरपालिका १२ का वडा अध्यक्ष रामजी रायले बताए ।