माओवादी केन्द्रले नेकपासंग एकता गर्न वार्ता टोली बनाउने,नेकपाको आपत्ती

564 Shares

नेकपा(माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)संग एकता गर्न वार्ता टोली गठन गरेर छलफल थाल्ने जनाएको छ।माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार चार दिनसम्म चलेको  माओवादी केन्द्रको  स्थायी समिति बैठकबाट विभिन्न निर्णय गरेको र त्यसमध्य नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)संग वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय समेत भएको छ।माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारले सहकारी ठगीमा आफ्ना नेता जोगाएर प्रतिपक्षीलाई मात्रै लगाम कसेको,लोडसेडिङ बढाउन थालेको,भिजिट भिसा प्रकरणमा आफ्ना नेतालाई जोगाएको,विद्यालय शिक्षा विधेयकमा ढिलाइ गरेको,त्रिभुवन विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप गरेको र सरकार दलाल तथा विचौलियासँग मिलेको निष्कर्ष समेत निकालेको माओवादी केन्द्रका उपाध्यक्ष एवा प्रवक्ता अग्नि प्रसाद सापकोटाले बताए ।
यता,नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)का प्रवक्ता खड्ग बहादुर वि.क.(प्रकाण्ड)ले पार्टी एकताबारे माओवादी केन्द्रसँग छलफल नै नभएको बताएका छन्।तीन दिनसम्म चलेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)सँग एकता गर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रको यो निर्णयले नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह) भने चकित भएको छ।
“माओवादी केन्द्रले पार्टी एकता गर्ने निर्णय गरेको रहेछ,त्यो उनीहरूको कुरा भयो,हामीसँग छलफल गरेर त्यो निर्णय लिइएको होइन।”नेकपाका प्रवक्ता प्रकाण्डले बताए ।माओवादी केन्द्रका कारण कम्युनिष्टहरू एकताबद्ध गर्न र ध्रुुवीकरण अवरूद्ध भएको भनेर नेकपाले अभिव्यक्ति दिएकोले त्यसको जबाफमा माओवादी केन्द्रले पार्टी एकताको निर्णय लिएको हुन सक्ने उनले जिकिर गरे।
नेकपाले सैद्धान्तिक रूपमा कम्युनिष्ट र माओवादीहरू एक हुनुपर्छ,त्यसको आवश्यकता छ भनेर भनिराखेको पनि उनलेबताए ।“हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टीको कुरा गरेको हो, संसदीय कम्युनिष्ट होइन।क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि त अहिलेको माओवादी केन्द्र धेरै माथि उठ्नुपर्ने हुन्छ।”उनले बताए ।

सम्बन्धित समाचार