राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।यस वर्ष नियमिततर्फ परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गरी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव गगन बहादुर अर्यालले जानकारी दिए।उनका अनुसार २०८२ वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको सार्वजनिक नतिजामा नियमिततर्फ परीक्षा दिएका तीन लाख ९६ हजार तीन सय ४७ परीक्षार्थीहरु मध्ये दुई लाख ४२ हजार चार सय ६५ जनाले ग्रेड प्राप्त गरेका छन् भने एक लाख ५३ हजार आठ सय ८२ जना “नन–ग्रेडेड”भएका छन्।जुन गत वर्षको तुलनामा करिब नौ प्रतिशतले बढी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यस्तै, आंशिकतर्फ परीक्षा दिएका एक लाख १४ हजार छ सय ४० मध्ये ४१ हजार आठ सय ४० अर्थात ३६ दशमलव ४९ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। नतिजा अनुसार,नियमिततर्फ सबैभन्दा बढी ९४ हजार दुई सय ६८ विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २० सम्मको जीपीए प्राप्त गरेका छन्।उत्कृष्ट मानिने ३ दशमलव ६१ देखि चार जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार पाच सय दुई जना रहेको छ।
यस वर्ष अनिवार्य अंग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी नन–ग्रेडेड भएका छन्।बोर्डका अनुसार अनिवार्य अंग्रेजीमा ६६ हजार दुई सय ७५,लेखामा ४१ हजार दुई सय ६३,सामाजिक अध्ययनमा ३३ हजार नौ सय २१ र अनिवार्य नेपालीमा २८ हजार तीन सय ५६ जना विद्यार्थी नन–ग्रेडेड भएका छन्।
गत वर्षको तुलनामा यस वर्ष नतिजा सुध्रिनुमा प्रश्नपत्रको नयाँ ढाँचा,शिक्षकहरूलाई दिइएको तालिम र उत्तरपुस्तिका परीक्षणमा अपनाइएको स्तरीकृत प्रणाली मुख्य कारण रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।उनका अनुसार“नयाँ पाठ्यक्रम अनुसार ज्ञान,बोध,प्रयोग र उच्च दक्षता जाँच्ने गरी प्रश्नपत्र निर्माण गरिएको थियो।यसले विद्यार्थीलाई सहज भयो।साथै,उत्तरपुस्तिका परीक्षणमा पनि स्तरीकृत उत्तर कुञ्जिका प्रयोग गरिएकाले नतिजामा सुधार देखिएको हो।”“नन–ग्रेडेड”भएका विद्यार्थीका लागि ग्रेड वृद्धि (पूरक) परीक्षा यही भदौ २८ र २९ गते परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।