आफुखुसी निर्माण उपभोक्ता समिति,प्राविधिक विनै रातीको समयमा काम,गुणस्तरहिन हुनेमा स्थानीयको आशंका

403 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १० स्थित चन्द्रपुरमा सडक स्तरोउन्नतीको काम गुणस्तरहिन भएको स्थानीयले गुनासो गरेका छ।सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा ख की प्रदेश सभा सदस्य एवम मधेश प्रदेश सरकारकी निवर्तमान मन्त्री बेची लुङ्गेलीको क्षेत्र विकास कोषको रु २५ लाख रकमबाट  भएको सडक स्तरोउन्नतीको काम गुणस्तरहिन भएको स्थानीयको आरोप छ ।
लालबन्दी नगरपालिका १० चन्द्रपुर स्थित केशव पोख्रेलको घरदेखि हरिहर दाहालको घर सम्मको दुई  सय ५२ मिटर लम्बाई तथा चार मिटर चौडाई भएको सडकको स्तरोउन्नतीका लागि सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा ख की प्रदेश सभा सदस्य एवम मधेश प्रदेश सरकारकी निवर्तमान मन्त्री लुङ्गेलीको क्षेत्र विकास कोषको रु २५ लाख रकम पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाही मार्फत उपभोक्ता समिति गठन गरेर सुरु भएको काममा रातीको समयमा प्राविधिकको उपस्थिति विना काम भएको,माटो र बालुवा हालेर पेल्नु पर्नेमा बालुवा मात्रै हालेर पेल्ने काम भएको,सडकको चौडाई नापेर नक्साङ्कन नगरी काम भएको साथै सूचना बोर्ड समेत नराखेको पाइएको हो ।
केही स्थानीयले जानकारी गराएपछि कमलामाई मिडिया प्रा.लिको टिम स्थलगत गर्न जाँदा धमाधम काम भई रहेको पाइएपछि प्राविधिक प्रशान्त तामाङ्लाई सोध्दा उनले सूचना बोर्ड राखेर काम गर्न आफुले उपभोक्ता समितिलाई भनेको,आफु काम विशेषले काठमाण्डौँ आएकोले काम भई रहेको स्थानमा के भएको भन्ने आफुलाई थाहा  नभएको र रातीको समयमा काम भएपनि केही फरक नपर्ने बताए ।
स्थानीय होम बहादुर सुस्लिङको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिमा कोषाअध्यक्षमा दिप बहादुर सुस्लिङ र सचिवमा बोकु माया थापा मगर रहेका छन्।उनीहरुले आफुखुसी काम गर्दा सडकको स्तरोउन्नतीको काममा गुणस्तरहिन हुने स्थानीयको आशंका छ ।
यता,सूचना बोर्ड नराखी तथा रातीको समयमा प्राविधिकको स्थलगत अनुगमन तथा उपस्थिति विना काम गर्न नहुने पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीका एक प्राविधिकले बताए।तर उक्त काम भई रहेको क्षेत्र हेर्ने प्राविधिक थिङ काठमाण्डौँमा छन् भने लालबन्दी नगरपालिका १० स्थित चन्द्रपुरमा सडक स्तरोउन्नतीको काम भई रहनुले गुणस्तरहिन हुनेमा स्थानीयको आशंका छ ।

सम्बन्धित समाचार