इश्वरपुर ८ रामपुरमा ३ करोडमा आधुनिक खेल मैदान निर्माण हुने

456 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ८ रामपुरमा आधुनिक खेल मैदान निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले इश्वरपुर नगरपालिका ८ रामपुरको खेल मैदान निर्माणका लागि रु तीन करोड बजेट विनियोजन गरेपछि रामपुरमा आधुनिक खेल मैदान निर्माण हुने भएको इश्वरपुर नगरपालिकाका नग प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार रामपुर खेल मैदानको स्तरोन्नतिसहित आधुनिक स्तरको खेल मैदान बनाउन ठूलो रकम विनियोजन भएपछि यस क्षेत्रका खेलप्रेमीहरुमा खुसी थपिएको छ ।
ईश्वरपुर नगरपालिका ८ रामपुरस्थित फूलजोर खोला किनारमा रहेको खेल मैदानलाई व्यवस्थित बनाउन पटक पटक विभागीय मन्त्री,राजनीतिक दलका नेता र खेलकुदसँग जोडिएका निकायका पदाधिकारीसँग माग गरिएकोमा यस पटक आफुहरुको माग पुरा भएको ईश्वरपुर नगरपालिका ८ का वडा अध्यक्ष श्याम थापाले बताए ।
सर्लाही जिल्लामा बागमती नगरपालिका ११ कर्मैया स्थित स्व.सन्तोष श्रेष्ठ स्मृती खेल मैदान बाहेक अरु खेल मैदान व्यवस्थित नरहेको अवस्थामा इश्वरपुर नगरपालिका ८ रामपुरमा आधुनिक खेल मैदान निर्माण गर्न बजेट विनियोजन भएको प्रति खेलप्रेमी विभूसिंह थापाले खुसी व्यक्त गरे ।
उनका अनुसार रु तीन करोड बजेटबाट रामपुर खेल मैदानलाई मधेश प्रदेशकै उत्कृष्ट खेल मैदान बनाउने योजना रहेको छ।राष्ट्रिय खेलकुद परिषद्ले इश्वरपुर नगरपालिका कार्यालयलाई लेखेको पत्रमा डिपिआर तयार पारेर यथाशिघ्र परिषद्मा पठाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार