सर्लाहीको चुरेक्षेत्रमा सवारी साधन ठप्प भएको छ।पछिल्लो समय लगातारको वर्षाले चुरेक्षेत्रका सडकहरु भत्काएपछि सो क्षेत्रमा सवारी साधन आवतजावत ठप्प भएको लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष छेनाम सिंह घिरिङले जानकारी दिए ।उनका अनुसार हिउँदको समयमा चुरेक्षेत्रमा पुगेका सडकहरु अहिले बाढीले भत्काएपछि पैदल यात्रा गर्न समेत कठिन छ ।लगातारको वर्षाका कारण चुरेक्षेत्रका कच्ची सडकहरु ठाउँ ठाउँमा भास्सिने,पहिरो खसेर अवरुद्ध हुने र वर्षाका कारण सडक बगेर गएपछि चाडपर्व नजिकिदै गर्दा चुरेक्षेत्रका स्थानीय चिन्तित देखिएका छन् ।
ईश्वरपुर नगरपालिका १२,लालबन्दी नगरपालिका १२,१३,१४ र १५,हरिवन नगरपालिका १ र बागमती नगरपालिका १ मा पर्ने चुरेक्षेत्रका स्थानीय सवारी साधन आवत जावत ठप्प भएपछि बिरामी हुँदा समेत स्वास्थ्य सेवा लिन आउन निकै सास्ती झेली रहेका छन् ।लालबन्दी,हरिवन र बागमतीमा किनमेल गर्न आउने स्थानीय समेत मारमा परेका छन् ।