जिल्ला हुलाक कार्यालय सिन्धुलीमा“स्मार्ट पोस्टल सर्भिस”सुरु,५ पालिका हुलाकबाट पिट्स सेवा

356 Shares

जिल्ला हुलाक कार्यालय सिन्धुलीले “स्मार्ट पोस्टल सर्भिस” को सुरुवात गरेको छ ।हुलाक सेवा सर्वसाधारणलाई सहज रुपमा उपलब्ध गराउन केही समय पहिला स्मार्ट हुलाक सेवा सुरु गरेको जिल्ला हुलाक कार्यालय सिन्धुलीले गोश्वरा हुलाक कार्यालय डिल्लिबजारका प्रमुख लिला बल्लभ न्यौपानेको विशेष उपस्थितिमा “स्मार्ट पोस्टल सर्भिस” को सुरुवात गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख कुमार थापाले जानकारी दिए ।
उनका अनुसार कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र गोश्वरा हुलाक कार्यालय डिल्लिबजारका प्रमुख न्यौपानेको विशेष उपस्थितिमा “स्मार्ट पोस्टल सर्भिस” को सुरुवात गरिएको हो ।आधुनिक प्रविधियुक्त यो सेवाले सर्वसाधारणलाई विभिन्न सरकारी तथा वित्तीय काममा सहजता ल्याउने अपेक्षा गरिएको गोश्वरा हुलाक कार्यालय डिल्लिबजारका प्रमुख न्यौपानेले बताए ।
उनका अनुसार नागरिकहरूलाई विभिन्न सरकारी सेवाहरूका लागि सहयोग पुर्याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।“स्मार्ट पोस्टल सर्भिस”ले मुख्यतया तीनवटा महत्वपूर्ण सेवाहरू निःशुल्क प्रदान गर्नेछ।यसअन्तर्गत राष्ट्रिय परिचयपत्र(राहदानी)को आवेदन फारम भर्ने काम निःशुल्क रूपमा गरिदिने व्यवस्था मिलाइएको छ ।
यसबाट फारम भर्न नजान्ने वा इन्टरनेटको पहुँच नभएका नागरिकहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले बताए ।उनका अनुसार यो सेवाले विभिन्न युटिलिटी बिल भुक्तानीको सहजीकरण समेत गर्ने छ ।
यस केन्द्रबाट सर्वसाधारणले बिजुलीको बिल,खानेपानीको बिल र अन्य सार्वजनिक सेवाहरूको विल भुक्तानी गर्न सक्ने छन्।यसले ग्रामीण क्षेत्रबाट सदरमुकाम आएका नागरिकहरूलाई लामो लाइन बस्नुपर्ने झन्झटबाट मुत्त गर्ने जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ ।
हुलाक सेवालाई समय अनुसार आधुनिकीकरण गर्नुपर्ने कमलामाई नगरपालिकाका नगर प्रमुख पोखरेलले बताए।उनका अनुसार जिल्लाका हुलाक कार्यालय सिन्धुलीले अब चिठीपत्र मात्र नभएर नागरिकहरूलाई आवश्यक पर्ने आधुनिक सेवाहरू पनि प्रदान गर्नुपर्छ।यो स्मार्ट सेवाले सिन्धुलीका नागरिकहरूलाई सरकारी काममा लाग्ने समय र खर्च दुवै बचाउन मद्दत गर्नेछ ।
यो सेवाको विस्तारले कार्यालयको छविमा सुधार आउने र आम नागरिकसँगको सम्बन्ध अझ प्रगाढ हुने जिल्ला हुलाक कार्यालयका सिन्धुलीका प्रमुख थापाले बताए ।उनका अनुसार भविष्यमा थप सेवाहरू पनि थप्दै लैजाने योजना रहेको बताए ।यस सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि जिल्ला हुलाक कार्यालय सिन्धुलीले आवश्यक कम्प्युटर उपकरणहरू र इन्टरनेटको व्यवस्था समेत गरि सकेको छ।सेवा प्रदान गर्नका लागि चार जना दक्ष कर्मचारीहरू खटाईने र नागरिकहरूलाई फारम भर्ने,कागजात जाँच गर्ने र भुक्तानी प्रक्रियामा सहयोग गर्ने कार्यालय प्रमुख थापाले बताए ।
जिल्ला हुलाक कार्यालय सहित नौ वटा पालिका हुलाक कार्यालय र एउटा हुलाक काउन्टर गरी १० वटा हुलाक कार्यालय रहेको सिन्धुलीका पाँच वटा पालिका हुलाक कार्यालयहरुले पिट्स सेवा समेत सञ्चालन गरी रहेका छन् भने बाँकी पालिका हुलाक कार्यालयहरुमा समेत  चाँडैँ नै पिट्स लगायतका सेवा सञ्चालन गर्ने जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ ।

सम्बन्धित समाचार