सरकारले अनुदानको रासायनिक मल वितरणलाई व्यवस्थित गर्न ल्याइएको नयाँ कार्यविधिबारे देशैभरका सबै स्थानीय तहहरूलाई जानकारी गराउँदै कार्यान्वयनका लागि परिपत्र जारी गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गर्दै “अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२” लागू भएको जानकारी गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवत्ता काली प्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुरोधमा सामान्य प्रशासन मन्त्रालयले उक्त परिपत्र जारी गरेको हो।कृषि मन्त्रालयले भदौ २ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी नयाँ कार्यविधि स्वीकृत भएको र पुरानो निर्देशिका खारेज गरिएको जानकारी सबै स्थानीय तहसम्म पु¥याइदिन आग्रह गरेको प्रवक्ता पराजुलीले बताए ।
“अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७”लाई खारेज गरी त्यसको ठाउँमा नयाँ र परिमार्जित कार्यविधि,२०८२ ल्याएको परिपत्रमा उल्लेख गरिएको छ । कृषि उत्पादन तथा उत्पादकत्व बढाउन,खाद्य सुरक्षा सुनिश्चित गर्न र मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी एवम प्रभावकारी बनाउन नयाँ कार्यविधि ल्याइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता डा.जानुका पण्डितले बताईन् ।
उनका अनुसार २०८२ साउन ७ गतेको मन्त्रीस्तरीय निर्णयबाट नयाँ कार्यविधि स्वीकृत गरिएको थियो भने साउन ३० गतेको निर्णयअनुसार पुरानो निर्देशिका खारेज गरिएको थियो । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई पठाएको पत्रमा “कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पत्रानुसार अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि,२०८२ जारी भएको विवरण सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।”परिपत्रमा भनिएको छ ।
यो परिपत्रसँगै अब देशभरका सबै सात सय ५३ वटै स्थानीय तहहरूले किसानहरुलाई अनुदानको मल वितरण गर्दा यही नयाँ कार्यविधिअनुसार प्रक्रिया अगाडि बढाउनुपर्नेछ ।यस अघि प्रदेशका सम्बन्धीत मन्त्रालयले कोटा निर्धारण गरेपछि मात्रै रासायनीक मल वितरण गर्ने गरिएको थियो ।