जिल्ला हुलाक कार्यालय सिन्धुलीले आफ्नो परम्परागत ढाँचा तोड्दै देशभर मै पहिलो “स्मार्ट पोस्टल सर्भिस”सुरु गरेपछि सिन्धुलीबासीको दैनिकी फेरिएको छ ।प्राय चिठ्ठी पत्र र पार्सल आदान प्रदान मै सीमित रहने हुलाक कार्यालय अहिले डिजिटल,वित्तीय र सरकारी एजेन्सी सेवाहरू वितरण गर्ने बहुउद्देश्यीय केन्द्रको रूपमा उदाउँदै गएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।उनका अनुसार बैंक,इन्टरनेट र सरकारी कार्यालय सहजै नपुग्ने दुर्गम गाउँहरूमा बस्ने नागरिकहरुका लागि हुलाकको यो पहल जीवनमै परिवर्तन ल्याउने खालको छ।
पहिले सामान्य फर्म भर्न वा सरकारी शुल्क बुझाउन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अब हुलाक मै पुगेपछि समाप्त भएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख कुमार थापाले बताए ।उनका अनुसार हुलाकलाई“बहुउद्देश्यीय डिजिटल सेवा केन्द्र”का रूपमा विकास गर्ने लक्ष्य लिइए अनुसार हुलाकलाई अब केवल चिठ्ठी पत्र वा पार्सल पठाउने संस्था मात्र नभई ग्रामीण जनताको हातमा राज्यका आधारभूत डिजिटल सेवा पुर्याउने महत्वपूर्ण संयन्त्र बन्ने छ ।
“स्मार्ट पोस्टल सर्भिस”अन्तर्गत अनलाइन भुक्तानी,डिजिटल फर्म सबमिट गर्ने र विभिन्न आवेदन दर्ता गर्ने सुविधा उपलब्ध हुने जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले बताए।उनका अनुसार सरकारी कागजातहरूको प्रमाणित प्रतिलिपि लिनेदेखि लिएर स्थानीय तहका सेवा लिनुपर्ने प्रक्रिया समेत हुलाक मार्फत गर्न सकिने व्यवस्था गरिएको छ ।
हुलाक मार्फत कर तिर्ने र अनलाइन फर्म भर्ने सुविधा आएपछि व्यापार व्यवसाय गर्न पनि सहज भएको स्थानीय व्यापारीहरु बताउँछन् ।उनीहरुका अनुसार पहिले सानो कामको लागि बैंक र सरकारी कार्यालय धाउनुपर्ने झन्झट थियो । अब हुलाकमै गएर सबै काम गर्न सकिने भयो ।
सिन्धुली हुलाक कार्यालयले सुरु गरेको यो नवीनतम पहललाई बागमती प्रदेश मै नमूना परियोजना बनाउने तयारी भइरहेको हुलाक सेवा विभागका निर्देशक एवम सूचना अधिकारी ध्रुव राज आचार्यले बताए ।उनका अनुसार यो मोडललाई अन्य जिल्लाका हुलाक कार्यालयमा समेत विस्तार गर्ने योजना रहेको छ ।समग्रमा,परम्परागत चिठ्ठी,पत्र र पार्सल आदान प्रदानमा सीमित हुलाक कार्यालय अब डिजिटल सरकारको ढोकासम्म गाउँलेहरूलाई पुर्याउने माध्यम बन्दै गएको उनले बताए ।
हुलाकमै फर्म भर्ने,शुल्क तिर्ने र कागज दर्ता गर्ने सुविधा पाएपछि समय र खर्च दुबै बचेको भएपनि सबै नागरिकले सजिलै डिजिटल सेवा प्रयोग गर्न सक्ने अवस्था नरहेको स्थानीय जानकारहरु बताउँछन्।विशेष गरी वृद्धवृद्धा र कम साक्षरता भएका नागरिकलाई अनलाइन प्रक्रिया सिकाउन समय लाग्ने हुलाक कर्मचारीहरूको अनुभव छ ।यसका लागि गाउँ–गाउँमा सचेतना कार्यक्रम र डिजिटल तालिम आवश्यक रहेको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ ।