सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्वासमा ३५ जना क्षयरोगी फेला परेका छन् ।लालबन्दी नगरपालिकाले पुनर्वासमा क्षयरोगीहरुको उपचार र नयाँ क्षयरोगी पत्ता लगाउन स्वास्थ्यकर्मी घर घरमै पुगेपछि ३५ जना क्षयरोगी फेला परेका लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिका २ पुनर्वास क्षेत्र पछिल्लो समय क्षयरोग (टीबी) को “हटस्पट”नै बनेको र आर्थिक वर्ष २०८१/०८२ मा पुनर्वासमा ३५ जना नयाँ क्षयरोगी फेला परेका हुन ।
लालबन्दी नगरपालिका २ पुनर्वासमा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा आठ जना र त्यसअघि आर्थिक वर्ष २०७९/०८० मा तीन जनामा क्षयरोगको सङ्क्रमण पुष्टी भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।शाखाका अनुसार ति बिरामीलाई घरघरमै पुगेर उपचार गर्ने र नयाँ बिरामीको खोजी गर्न घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।
लालबन्दी नगरपालिका २ पुनर्वासका घरघरमै गएर बट्टामा खकार संकलन गरेर लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालको ल्याबमा ल्याएर परीक्षण गर्ने गरिएको लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले जानकारी दिए ।उनका अनुसार क्षयरोग सङ्क्रमित बिरामीले खोक्दा वा हाछ्यूउ गर्दा थुकको छिटाको माध्यमबाट तथा बिरामीको जुठो खाँदा क्षयरोग सर्छ ।
यता,लालबन्दी नगरपालिकाका १७ वटा वडाहरुमा अहिले एक सय ८५ जना क्षयरोगी रहेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।लालबन्दी नगरपालिकाका १७ वटा वडाहरुमा सबैभन्दा बढी क्षयरोगी लालबन्दी नगरापालिका २ पुनर्वास क्षेत्र मै रहेका छन् ।
पुनर्वासमा अधिकांश दलित (पासवान) समुदायको बसोवास रहेको उक्त दलित बस्तीमा सरसफाईको कमी र पोषणयुक्त खानेकुराको अभावले गर्दा सङ्क्रमण बढी देखिएको लालबन्दी नगर अस्पतालले जनाएको छ ।क्षयरोगीलाई सरकारले निःशुल्क औषधि प्रदान गर्दै आइरहेको र कम्तीमा छ महिना अनिवार्य र त्यसपछि चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।